नेका लुम्बिनीको पहिलो साधारण सभा तिलोत्तमामा, सदस्य सुदृढीकरण र योजना तय हुने

by समतल अनलाइन
71Shares

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश समितिले आफ्नो पहिलो साधारण सभा पुस २५ गते तिलोत्तमा स्थित टाईगर प्यालेसमा आयोजना गर्ने भएको छ। साधारण सभामा संघले विगतका गतिविधिको मूल्याङ्कन गर्दै आगामी वर्षका योजना तय गर्ने लक्ष्य राखेको छ।

नेका लुम्बिनी प्रदेशका अध्यक्ष गणेश गौडेलले बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै भने, “शिक्षा मन्त्रालयले नयाँ दर्ता प्रक्रिया रोकेपछि धेरै शैक्षिक परामर्श प्रदायक संस्था दर्ताबाट वञ्चित भएका छन्। संघले सदैव सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै आएको छ। त्यसैले हामी सरकारले यो प्रक्रिया तुरुन्त खुलाउने विषयमा ध्यान दिनुपर्ने माग राख्छौं।”

सचिव नारायण पोखरेलले भने, “साधारण सभाबाट संघलाई थप सुदृढ बनाउने, सदस्यहितका विषयमा ठोस निर्णय लिने र भविष्यका योजनाहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने छ। साथै सदस्यहरूबीच आपसी समन्वय बढाउने र संघका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।”

सभाका संयोजक तथा सहसचिव योगेश ढकालका अनुसार नेका हाल काठमाडौँ, कोशी र लुम्बिनी प्रदेशमा शाखा विस्तार गरिसकेको छ। लुम्बिनी प्रदेशमा मात्रै ३१ वटा शैक्षिक परामर्श प्रदायक संस्था संघमा आवद्ध छन्। संघले नियमित रूपमा सदस्यका सवाल, समस्या र सुझावलाई सम्बोधन गर्दै आएको छ।

सभाको उद्घाटनमा सदस्य सूर्य गहतराजले स्वागत मन्तव्य दिँदै संघका उद्देश्य, गतिविधि र आगामी योजनाबारे विस्तृत जानकारी दिएका थिए। उनले भने, “संघले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्न, सदस्य संस्था सुदृढ बनाउन र विद्यार्थी तथा अभिभावकहरूलाई जानकारीमूलक परामर्श उपलब्ध गराउन निरन्तर काम गर्दै आएको छ।”

साधारण सभामा संघको विगत वर्षको गतिविधि रिपोर्ट प्रस्तुत गरिनेछ भने आगामी वर्षका लागि रणनीति, सदस्य अभिवृद्धि, तालिम कार्यक्रम र दर्तासम्बन्धी कार्ययोजना तय गरिनेछ। यसले संघलाई अझ सशक्त बनाउने र सदस्य संस्था तथा विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

संघको पहिलो साधारण सभा सफलतापूर्वक सम्पन्न हुनुअघि नै सम्पूर्ण तयारी पूरा भइसकेको नेका लुम्बिनी प्रदेश समितिले जानकारी दिएको छ। सभामा करिब एक सय जनाको सहभागिता रहने अनुमान गरिएको छ।

You may also like