चैतन्य एकेडेमी बुटवल शाखाद्वारा स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

by समतल अनलाइन
92Shares

बुटवल । चैतन्य एकेडेमी बुटवल शाखाको आयोजनामा बुधबार एकेडेमीको परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीको प्रथम स्थापना दिवसको अवसरमा “ज्ञान, सद्भाव र समुन्नतिका कामना सहित” दीप प्रज्वलन गरी कार्यक्रम गरिएको व्यवस्थापक दिपक ढकालले बताए ।

कार्यक्रममा चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दिपक ढकाल तथा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका सन्तोष आचार्यको सहभागिता रहेको थियो । साथै एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दीप प्रज्वलन कार्यक्रमपछि बोल्दै चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दिपक ढकालले शैक्षिक संस्थाले पढाइसँगै समाजप्रति जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने बताए । उनले भने, “हामीले शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै अघि बढाएका छौँ । स्थापना दिवसका अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।”

दीप प्रज्वलनमार्फत शिक्षा, सकारात्मक सोच, सामाजिक सद्भाव र उज्यालो भविष्यको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले शैक्षिक संस्थाले नैतिक मूल्य, सामाजिक चेतना र जिम्मेवारी बोध गराउनुपर्नेमा जोड दिएका थिए ।

ढकालका अनुसार स्थापना दिवसकै अवसरमा यसअघि सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम तथा बुटवलमा महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो मुक्तिलाई एक थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको थियो । यस्ता कार्यक्रममार्फत शिक्षा र समाजबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य रहेको उनले बताए ।

चैतन्य एकेडेमीले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

You may also like