स्थापना दिवसमा चैतन्य एकेडेमी बुटवलद्वारा रक्तदान, ३५ युनिट रगत संकलन

by समतल अनलाइन
128Shares

बुटवल । लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्य एकेडेमी नेपाल, शाखा कार्यालय बुटवलले आफ्नो प्रथम स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ।

स्थापना दिवसको अवसरमा मेघा ट्रेडिङ इन्स्टिच्युट र करियर गाइडको सहकार्यमा बुधबार एकेडेमीको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा ३५ युनिट रगत संकलन भएको चैतन्य एकेडेमी बुटवलका व्यवस्थापक दीपक ढकालले जानकारी दिए।

रक्तदान कार्यक्रमको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश, बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्य, नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री तथा नेपाल ढकाल समाज प्रतिष्ठानका अध्यक्ष टिकाराम ढकालले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आचार्यले मानव अधिकार र रक्तदानको महत्व विषयमा मन्तव्य व्यक्त गरे।

यसअघि स्थापना दिवसकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार स्थानीय संघ–संस्थाको सहकार्यमा वृहत सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको व्यवस्थापक ढकालले बताए।
त्यसैगरी, स्थापना दिवसको अवसरमा बुटवलमा महिलाहरूद्वारा सञ्चालित रेडियो मुक्तिलाई एक थान कम्प्युटर सहयोगस्वरूप हस्तान्तरण गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्य, नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री तथा चैतन्य एकेडेमी बुटवलका व्यवस्थापक दीपक ढकालले रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारीलाई कम्प्युटर हस्तान्तरण गरेका हुन्।

चैतन्य एकेडेमी बुटवलमा हाल नायब सुब्बा, खरिदार, शाखा अधिकृत, बैंकिङ, शिक्षक सेवा, असई तथा उपसचिव तहसम्मका लोक सेवा तयारी कक्षा सञ्चालन हुँदै आएका छन्। हप्ताको तीन दिन नमुना परीक्षा समेत सञ्चालन हुने गरेको एकेडेमीले जनाएको छ। बुटवलमै गुणस्तरीय लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यसअघि काठमाडौं जानुपर्ने बाध्यता हटेको व्यवस्थापक ढकालले बताए।

You may also like