by समतल अनलाइन
37Shares

काठमाडौँ । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति हुने सहमतिपत्रमा हस्ताक्षर गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नरहेको दाबी गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधि गरिरहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी थिइन् । त्यस्तै मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘रास्वपामा आबद्ध भएपछि नागरिक सरकारमा बसिरहन मिल्छ कि मिल्दैन’ भन्ने प्रश्न उठेको थियो ।

गत पुस १४ गते राति रास्वपा सभापति रवि लामिछानेसँग भएको सात बुँदे सहमतिपत्रमा कुलमानलाई उपसभापति बनाउने उल्लेख छ। सहमति पत्रको चौथो बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने’ भनिएको छ।

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कुलमान रास्वपाको पहिलो वरीयताको उपसभापति हुने व्यवस्था छ। वरीयतामा कुलमानपछि डिपी अर्याल र त्यसपछि स्वर्णिम वाग्ले रहेका छन्।

यो सहमतिपछि उज्यालो नेपाल पार्टीको तर्फबाट १८ जनालाई रास्वपाले समानुपातिक सूचीमा समावेश गरेको छ। उक्त सूचीमा कुलमानका भान्जा र ससुराको नाम राखिएको विषयमा पार्टीभित्र विवाद भएको बताइएको छ।

कुलमान आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बैठकमा नियमित रूपमा सहभागी हुँदै आएका छन् । तर उनले मंगलबार उठेको प्रश्नमा संक्षिप्त उत्तर दिँदै भने ‘कुनै पनि पार्टीको सदस्य छैन ।’

You may also like