बुटवल । चैतन्य एकेडेमी बुटवल शाखाको आयोजनामा बुटवलको देवीनगरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
एकेडेमीको प्रथम वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।
मंगलबार साँझ भएको सरसफाइ कार्यक्रममा चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दिपक ढकाल, मानव अधिकार लुम्बिनी प्रदेशका सह–सचिव सन्तोष आचार्य, शाखा अधिकृत नागरिक लगानी कोषका शंकर अधिकारी, अनुसन्धान विभागका अनुसन्धान अधिकृत नवीन कुमार खड्का तथा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका लेखा अधिकृत सादन पोखरेलको सहभागिता रहेको थियो ।
त्यसैगरी देवदह मेडिकल कलेजका कन्सल्टेन्ट फिजिसियन डा. सुदन देवकोटा, चेतन्य एकेडेमीका शिक्षक, विद्यार्थी तथा स्थानीयको समेत सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रमअन्तर्गत देवीनगर चौतारी क्षेत्रका सडक, सार्वजनिक स्थल तथा वरपरका क्षेत्रमा फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।
कार्यक्रमपछि बोल्दै चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दिपक ढकालले शैक्षिक संस्थाले पढाइसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, “हामीले विद्यार्थीलाई किताबको ज्ञानसँगै सामाजिक जिम्मेवारीको अभ्यास गराउन यस्ता कार्यक्रम गर्दै आएका छौँ । स्वच्छ वातावरण निर्माण सबैको साझा दायित्व हो, यसलाई अभियानकै रूपमा अगाडि बढाउन आवश्यक छ ।”



