बुटवल । लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघ, रुपन्देहीको १९औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनमा संघका अध्यक्ष बाबुराम भुसालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संघले कृषि बजार व्यवस्थापन, किसान–व्यवसायी–उपभोक्ताबीच सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको फलफूल तथा तरकारी व्यवसायलाई एकताबद्ध र व्यवस्थित बनाउने उद्देश्यसहित वि.सं. २०६३ मा संघ स्थापना गरिएको उहाँको भनाइ छ ।
अध्यक्ष भुसालका अनुसार संघको पहलमा नेपाल सरकार, बुटवल उपमहानगरपालिका र संघको त्रिपक्षीय लगानी (३पी मोडल) अन्तर्गत बुटवल कृषि उपज थोक बजार केन्द्र निर्माण भई सञ्चालनमा आएको छ । उक्त बजार हाल देशकै नमुना थोक बजारका रूपमा स्थापित भएको उहाँले बताउनुभयो ।
प्रतिवेदनमा मेचीदेखि महाकालीसम्म कृषि उपज संकलन तथा वितरण हुँदै आएको, यसले किसानको आम्दानी वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ । यद्यपि प्रस्तावित नयाँ थोक बजार, निजी क्षेत्रको टेन्डर प्रक्रिया, अवैध आयात, बजार अनिश्चितता तथा व्यवसायीको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको छ ।

संघले व्यवस्थित थोक बजार, चिस्यान भण्डारण गृह, सरसफाइ, ट्राफिक तथा ढुवानी व्यवस्थापन, सरल कर प्रणाली, मूल्य स्थिरतामा सरकारको भूमिका र दीर्घकालीन आयात–निर्यात नीतिको माग गरेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकमा संघीयता आए पनि संघीयताको मर्मअनुसार संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा सानोतिना समस्या समाधान गर्न पनि संघकै मुख ताक्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले संघीयता कार्यान्वयन भएको लामो समय बितिसक्दा पनि अधिकार प्रत्यायोजन नहुँदा स्थानीय तहले कानुनअनुसार काम गर्न कठिनाइ भोग्नुपरेको बताउनुभयो । स्थानीय तह बलियो नहुँदासम्म समस्या समाधान नहुने भन्दै उहाँले संघीय निजामती सेवामा केन्द्रिकृत मानसिकता हावी हुँदा समस्या थप जटिल बनेको उल्लेख गर्नुभयो ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरत खतिवडाले तीन तहका सरकारबीच समन्वय र सहकार्यको अभावका कारण समस्या उत्पन्न हुने गरेको भन्दै सहअस्तित्वको संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन गर्न आनाकानी गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्योति भण्डारी, नेकपा एमाले बुटवलका अध्यक्ष शोभाकर पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका नगर संयोजक महेन्द्र भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका अध्यक्ष राजन पाण्डेयले संघीयता प्रभावकारी कार्यान्वयन र व्यवसायीमैत्री नीति आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले व्यवस्थित बजार, उपभोक्ता संरक्षण र व्यवसायिक सुरक्षामा सरकारको भूमिका आवश्यक रहेको बताउनुभयो ।
संघका संस्थापक अध्यक्ष घनश्याम भुसाल, पूर्व अध्यक्ष कलाधर पन्थी, राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी संघ पोखराका अध्यक्ष दुर्गा कंडेल, संघका व्यवसायिक सल्लाहकार कृष्णप्रसाद पोखरेल, कृषि विज्ञ कलशराज चौधरी, संघका वरिष्ठ उपाध्यक्ष मोहम्मद याकुव, उपाध्यक्ष अमृत भट्टराई, महासचिव मेघनाथ पौडेल तथा शाह कृषि फर्म बुटवलका सञ्चालक नुरूद्दिन शाहले व्यवसायीमैत्री वातावरण बनाउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
अधिवेशनको अवसरमा संघले रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । साथै, १२ जना विद्यार्थीलाई न्यानो कपडा पनि वितरण गरिएको संघले जनाएको छ ।



