काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सघाउन आह्वान गरेकी छन् ।
पूर्वसांसद मञ्चको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा भएको भेटमा उनले मुलुकको अवस्था संवेदनशील रहेकाले संयम, सहिष्णुता र सद्भाव आवश्यक रहेको बताइन् । निर्वाचन मुलुकको राष्ट्रिय दायित्व भएकाले समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरिन् ।
प्रत्येक नागरिकले ‘देश मेरो पनि हो’ भन्ने जिम्मेवारी बोधका साथ भूमिका खेल्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । सबै राजनीतिक दल निर्वाचनका लागि तयार भइसकेको र अब मतदाता शिक्षामा सामूहिक प्रयास आवश्यक रहेको उनले बताइन् ।
‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ । प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवार भूमिका खेल्नुपर्नेछ,’ कार्कीले भनिन्, ‘समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ । यसका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस् ।’
निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गर्दै उनले नयाँ पुस्ताको हातमा शासन व्यवस्था गए देशले लय समाउने बताइन् ।



