काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् ।
पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा-मामिलालाई प्रतिशोधको संज्ञा दिए । यस क्रममा उनले शीर्ष नेताप्रति असन्तुष्टि व्यक्त गरे ।
‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईँहरूलाई नपुरी सुखै छैन,’ उनले भने ।
लामिछानेले पुराना दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेको आरोप लगाए । निर्वाचन हुन नदिन कसैले षड्यन्त्र नगर्न उनले आग्रह गरे ।
यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई यस पटक रास्वपालाई समर्थन गर्न उनले अपिल गरे । आफूले माया गरेको दललाई एक पटक प्रतिपक्षमा बस्न दिने गरी सोच्न उनले आग्रह गरे ।
‘म तपाईंहरू सबैलाई भन्छु । पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका नेताले पनि हाम्रो दलको बारेमा चिन्ता नगर्नुस् पर्दैन । संसद्लाई तपाईंहरूले बजेट भाषणबाहेक हेर्न नमिल्ने बनाउनु भएको थियो,’ उनले भने, ‘युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने बनाउने रास्वपा हो । गिरेको मनोबल र अर्थतन्त्रलाई हामी उकास्छौँ ।’
उनले आफ्नो दलका नेता राजनीतिक रूपमा परिपक्व हुँदै गएको बताए ।



