बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–रुद्रपुरका १७ वर्षीय इशान शर्मा पौडेलको मृत्यु प्रकरण शंकास्पद बन्दै गएको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विभिन्न संघ–संस्थाले निष्पक्ष छानबिनको माग गरेका छन् ।
इशानको मृत्यु दुर्घटनाबाट नभई योजनाबद्ध हत्या भएको आशंका गर्दै ब्युटिपार्लर एसोसिएसन र नेपाल ब्युटिसियन संघले दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । उनीहरूले प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणप्रति असन्तुष्टि जनाउँदै गम्भीर, निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने बताएका छन् ।
ब्युटिपार्लर एसोसिएसन तथा ब्युटिसियन संघका संरक्षक चिनु गुरुङले प्रहरी प्रशासनले दिएको प्रारम्भिक विज्ञप्ति बनावटी जस्तो देखिएको आरोप लगाउनुभयो । उहाँले इशानलाई न्याय दिलाउन गम्भीर अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशकी अध्यक्ष बविता के.सी. कार्कीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसमक्ष घटनाको छानबिन गरी पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्नुभयो ।
नेपाल ब्युटिसियन संघका केन्द्रीय पूर्व वरिष्ठ उपाध्यक्ष शान्ति शर्माले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा सजाय र अनुसन्धानको प्रगति नियमित रूपमा सार्वजनिक गर्न माग गर्नुभयो । “न्याय ढिलो हुनु भनेको न्याय नपाउनु सरह हो,” उहाँले भन्नुभयो, “इशानले न्याय नपाएसम्म हाम्रो आवाज रोकिने छैन।”
इशान शर्मा पौडेल कञ्चन गाउँपालिकास्थित बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । उनी तेक्वान्दो खेलाडी तथा प्रशिक्षकसमेत रहेका थिए ।
घटनाबारे प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सत्यतथ्य छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले प्रहरी प्रशासन गम्भीर रूपमा अनुसन्धानमा जुटिरहेको बताउनुभयो ।
परिवारजनका अनुसार पुस २ गते विद्यालय र जिम हाउस गएका इशान साँझसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । भोलिपल्ट पुस ३ गते बिहीबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा इशानको शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक रिपोर्टलाई अस्वीकार गर्दै परिवारजन र स्थानीय बासिन्दाले यो घटना दुर्घटना नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले इशानको मृत्यु दुर्घटनाबाट भएको भन्ने प्रारम्भिक रिपोर्ट आए पनि थप अनुसन्धान जारी रहेको बताउनुभयो ।



