काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच गठबन्धन हुने भएको छ । यस विषयमा दलका शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिसकेका छन् । ओली र देउवाबीच गत पुस ७ गते देउवा निवास महाराजगन्जमा भेटवार्ता भएको थियो।
यही विषयमा आइतबार ओली र प्रचण्डबीच भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । प्रचण्ड दिल्ली प्रस्थान गर्नुअघि ललितपुरको च्यासलमा उनीहरूबीच एक्ला एक्लै करिब १५ मिनेट छलफल गरेका थिए ।
त्यस्तै, सोमबार एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । बिहान ९ बजेदेखि ११ बजेसम्म ओली निवास गुन्डुमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल केन्द्रित थियो ।
स्रोतका अनुसार छलफलमा राष्ट्रिय सभामा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी बनेको छ । सिट बाँडफाँडमा पनि मोटामोटी सहमति भएको छ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा १८ सिटका लागि मतदान हुँदैछ । समझदारीअनुसार कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने प्रस्तावमा सहमति बनेको स्रोतको दाबी छ ।
कांग्रेसले ७ सिटमा सहमति जनाए पनि हरेक प्रदेशबाट एक-एक जना उम्मेदवार हुनुपर्ने सर्त राखेको छ। सोमबार ओलीसँग भएको छलफलबारे कार्यवाहक सभापति खड्काले सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जानकारी गराएका छन् ।
हाल पार्टी कार्यालयमा खड्काकै अध्यक्षतामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक चलिरहेको छ।



