बुटवल । जुत्ता–चप्पलका विभिन्न डिजाइन र नेपाली ब्रान्डहरू एकै स्थानमा अवलोकन तथा खरिद गर्न सकिने जुत्ता–चप्पल भेराइटी मेला बुटवलमा सुरु भएको छ। नेपाली जुत्ता घर बुटवलको आयोजनामा सुरु भएको मेला पौष २० गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार मेलामा नेपालका ख्यातिप्राप्त फुटवेयर ब्रान्डहरूको बृहत् प्रदर्शनी राखिएको छ। एकै स्थानमा पाँच हजारभन्दा बढी प्रकारका जुत्ता र चप्पलका डिजाइनहरू अवलोकन गर्न सकिने भएकाले ग्राहकका लागि मेला आकर्षक बनेको छ। मेला उद्योगदेखि उपभोक्तासम्म प्रत्यक्ष पहुँच बनाउने उद्देश्यले आयोजना गरिएको मेलाका सञ्चालक अविषेक पाण्डेले जानकारी दिनुभयो।
मेलामा विशेष छुट योजना पनि लागू गरिएको छ। जसअनुसार पाँच सय रुपैयाँमा एक जोडी जुत्ता, पाँच सय रुपैयाँमै दुई जोडी चप्पल, पाँच सय रुपैयाँमा तीन जोडी चप्पल तथा सात सय पचास रुपैयाँमा दुई जोडी जुत्ता खरिद गर्न सकिने व्यवस्था गरिएको छ। मेलामा प्रवेश पूर्ण रूपमा निःशुल्क रहेको आयोजकले जनाएको छ।
यसैगरी मेलामा सहभागी जुनसुकै नेपाली ब्रान्डका जुत्ता तथा चप्पल खरिद गर्दा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अर्का सञ्चालक अर्जुन खनालले बताउनुभयो। मेलामा विभिन्न चर्चित नेपाली फुटवेयर ब्रान्डहरूको सहभागिता रहेको छ।
मेला बुटवल उपमहानगरपालिका–११ अन्तर्गत नयाँमण्डीस्थित कालिकानगरमा सञ्चालन भइरहेको छ। मेलाले स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धन गर्नुका साथै उपभोक्तालाई गुणस्तरीय जुत्ता–चप्पल सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास आयोजक दामोदर न्यौपानेले व्यक्त गर्नुभयो।



