भदौ २४ को घटना योजनावद्ध, सेनाले भरपर्दो सहयोग गरेन : ओली

by समतल अनलाइन
88Shares

काठमाडौं।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको घटना योजनावद्ध भएको बताएका छन् ।

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा ओलीले बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्‍याउन सम्भव नहुने भन्दै योजनाबद्ध घटना भएको दाबी गरेका छ् ।

ओलीले आफूले २४ भदौको अवस्था नियन्त्रणमा लिन सेना परिचालन गर्न चाहेपनि सम्भव नभएको बताएका छन् ।

आइतबार ओलीलाई बयानका लागि पत्र बुझाउन गएको छानबिन आयोगका प्रतिनिधिलाई ओलीले लिखित जवाफ पठाएका हुन् ।

आयोग स्रोतका अनुसार ओलीको लिखित बयानमा छ, ‘२४ भदौको अवस्था नियन्त्रणमा लिन मैले नेपाली सेना परिचालन गर्न चाहेको थिएँ, तर त्यो सम्भव भएन ।’

ओलीले २४ भदौमा आफूमाथि नियोजित रूपमा आक्रमणको प्रयास भएको दाबी गरेका छन् । बालुवाटारमै प्रवेश गरेर जसरी आक्रमण गरियो, त्यसले उक्त दिन आफ्नो हत्या पनि हुन सक्ने अवस्था भएको दाबी ओलीको छ ।

आन्दोलनमा देशभित्रका शक्तिको मात्र हात नभएको अहिले पुष्टि हुँदै आएको दाबी ओलीको छ । ‘सरकार गठनदेखि विभिन्न काममा अहिले जसरी भूराजनीतिक खेल भएका छन्, त्यसले यो आन्दोलनमा घुसपैठ भएको पुष्टि गर्ने’ उनले उल्लेख गरेका छन् ।

२४ भदौमा जसरी विध्वंसका घटनाहरू भए त्यो योजनाबद्ध नै भएको दाबी पनि ओलीको छ । उनले केही अराजक समूहहरूले योजना नै बनाएर संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवनदेखि व्यक्तिगत सम्पत्तिमा समेत क्षति पुर्‍याएको बताएका छन् ।

बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्‍याउन सम्भव नहुने भन्दै योजनाबद्ध घटना भएको दाबी ओलीको छ । आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको पनि ओलीले लेखेका छन् ।

ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको सुरुदेखि नै भन्दै आएको र अहिले पनि यही अडानमा रहेको लिखित जवाफमा पनि उल्लेख गरेका छन् । उनले घटना किन भयो र यसका पछाडि कुन–कुन शक्तिको हात छ त्यसको खोजीनीति र स्पष्ट हुनुपर्ने माग आयोगसमक्ष गरेका छन् ।

You may also like