नेपालमै पहिलोपटक तीन फर्म्याटमा क्रिकेट सिरिज, भैरहवाबाट सुरुवात

by समतल अनलाइन
227Shares

भैरहवा।रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ बीच स्पर्धा हुने गरी टेष्ट, वनडे र टी–२० क्रिकेट आयोजना गरिएको हो । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा हुन लागेको यो पहिलोपटक हो ।

आइतबार सुरु टेष्ट को पहिलो दिन आर्मीले रुपन्देहीविरुद्ध १६ रनले अग्रता लिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बल खेल्दै १ सय २२ रनमा अलआउट भयो । उसका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र मिर्नाल गुरुङले १८ रन बनाए । बलिङमा आर्मीका अनिश धामीले १३ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिए । यस्तै, घनश्याम पाण्डेले ३ र पारससिंह धामीले २ विकेट लिए ।

आर्मीले पहिलो इनिङमा ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । जसमा प्रदीप पेलाले ४८ र जितेन्द्रसिंह ठकुरीले ४३ रन बनाए । बलिङमा रुपन्देहीका अजय चौहान र विप्रसन केसीले ३–३, सुरज खड्काले २ र देव खनालले १ विकेट लिए । टेष्टको बाँकी खेल सोमबार हुनेछ ।

प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट सिरिज हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले क्रिकेट खेल युवाहरुको जीवनसँग जोडिएको बताए । उनले क्रिकेटमा भविष्य देख्ने युवाहरुको सपना साकार पार्न प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको जनाए । मन्त्री पाण्डेयले भने, ‘नेपालमा खेलकुदमा सन्जीवनी बनेको कुनै खेल छ भने त्यो क्रिकेट हो । क्रिकेट अब क्रिकेट मात्रै नरहेर युवाहरुको जीवनसँग जोडिइसकेको छ । युवाहरुले आफ्नो सपना र लक्ष्य भनेकै क्रिकेटलाई मानेका छन् ।’

मन्त्री पाण्डेयले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई चिनाएको जनाउँदै अब सरकारी तहबाट थप लगानी हुने हो भने यसले अझै फड्को मार्ने बताए । ‘यदि लगानी राम्रो गर्दै जाने हो भने भारत, साउथ अफ्रिका र अष्ट्रेलिया जस्ता देशहरुमाथि पनि विजय प्राप्त गर्न सक्छौं’, उनले भने, ‘प्रदेश सरकारले अब रुपन्देही क्रिकेट संघसँग सहकार्य गरेर छिट्टै नै प्रदेशस्तरीय क्रिकेट खेल आयोजना गर्दै छ ।’ यसका लागि उनले ४० लाख रुपैयाँ बजेट छुट्याइने जनाए ।

उनले खेल र पर्यटन एकअर्काका परिपूरक भएको जनाउँदै यी दुईको सँगसँगै विकास गर्नुपर्नेमा जोड दिए । ‘क्रिकेट हेर्न दर्शक आउँदा यसले पर्यटन क्षेत्रको समेत विकास गर्छ’, उनले भने, ‘खेललाई अझै परिस्कृत रुपमा प्रोत्साहन गर्न सक्यौं भने यसले पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउँछ ।’

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले नेपालमै नौलो र ऐतिहासिक प्रतियोगिता भैरहवामा सुरु गरिएको जनाए । उनका अनुसार त्रिभुवन आर्मी क्लब ‘ए’ र रुपन्देही–११ बीच तीन विधामा ७ खेल हुनेछन् । जसमा टेष्ट, वनडे र टी–२० क्रिकेट खेलहरु समावेश छन् । यसले खेलाडीलाई अभ्यस्त, नियमितता र खेलप्रति लगाव बढाउनेछ । नेपालमा दुई टीमबीच यस किसिमको खेल यसअघि भएका छैनन् । यसैले पनि यस प्रतियोगितालाई ऐतिहासिक भनिएको अध्यक्ष थापाले जनाए ।

You may also like

This will close in 0 seconds