बुटवलमा वर्ड क्याम्प नेपाल २०२६ हुने, माघ ९ र १० मा आठौँ संस्करण आयोजना

by समतल अनलाइन
85Shares

बुटवल । मोफसलमा वर्डप्रेसको ज्ञान र अवसरहरू पु¥याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्ड क्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा हुने भएको छ । तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित विश्राम बाटिकामा आगामी माघ ९ र १० गते (जनवरी २३ र २४) मा वर्ड क्याम्प नेपालको आठौँ संस्करण हुन लागेको हो ।

लुम्बिनी प्रदेशमै पहिलोपटक हुन लागेको सम्मेलनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा वर्ड क्याम्प नेपाल २०२६ का स्थानिय संयोजक कृष्ण न्यौपानेले तयारी तीव्र रुपमा भइरहेको बताए । सन् २०१२ देखि नेपालमा वर्ड क्याम्प आयोजना हुँदै आएको छ । वर्ड क्याम्प वर्ड प्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । यो कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थीलगायत सबै वर्डप्रेससँग सरोकार राख्नेहरूले भाग लिन सक्ने उनले बताए । वर्डप्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी र प्रविधिको विकासबारे बुझ्ने, नेटवर्क निर्माण गर्ने, आफ्नो करियरका लागि नयाँ अवसरको खोजी गर्ने, एआईको प्रयोग, वर्डप्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने न्यौपानेले जानकारी दिए । वर्डप्रेसलाई एआइसँग जोडेर कसरी अझै आधुनिक र सजिलो बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने उनले बताए । उनका अनुसार वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई–कमर्स समाधानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको वर्डप्रेसको माध्यमबाट नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पु¥याउन यो कार्यक्रम सहयोगि बन्ने छ । मोफसलमा पहिलो पटक हुन लागेको यो सम्मेलनमा ८ सय जना भन्दा बढी सहभागि हुने अनुमान गरीएको न्यौपानेले बताए ।

उनका अनुसार हालसम्म ५ सय भन्दा बढीले अनलाइनबाट रजिस्ट्रेसन गरीसकेका छन् । भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण स्थानको नजिकै रहेको बुटवलको छनोटले तराई क्षेत्रका साथै अन्य ठाउँबाट पनि सहभागीहरूलाई आकर्षित गर्ने आयोजकको विश्वास छ । आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य, भ्यू–प्वाइन्ट र पार्कहरूले भरिपूर्ण बुटवल, वर्ड क्याम्प नेपाल २०२६ को लागि उत्कृष्ट पृष्ठभूमि बन्ने आयोजकले जनाएको हो । कार्यक्रममा नेपाल, भारत, बंगलादेश, अमेरिका, युरोपेली मुलुकबाट स्वदेशी तथा विदेशी सहभागीहरू उपस्थित हुने वर्ड क्याम्प नेपाल २०२६ का ग्लोबल संयोजक राकेश लावाजुले जानकारी दिए । २८ लाख लागत अनुमान गरीएको सम्मेलनको पहिलो दिनलाई ‘कन्ट्रिब्युटर डे’ भनिएको छ, जुन दिन वर्डप्रेसको ओपन सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन् । यो दिन टिम लिडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसका मापदण्डहरू र दिशानिर्देशबारे मार्गदर्शन गर्नेछन् । यसैगरी वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर प्रोग्रामर दुवै खालको योगदान कसरी गर्न सकिन्छ भन्नेबारे सिक्न र बुझ्न पाइने आयोजकको भनाइ छ । यस्तै दोस्रो दिनलाई ‘कन्फरेन्स डे’ भनिएको छ, जसअन्तर्गत वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछ । वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ कुरा सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि यो उपयुक्त अवसर भएको आयोजकले जनाएको छ ।

यसैदिन वर्डप्रेस वर्कशपको पनि तयारी गरिएको छ भने प्यानल छलफलहरुले वर्डप्रेस डेभलपमेन्ट, डिजाइन, व्यवसाय, सामग्री निर्माण र समूदाय निर्माण लगायतका विस्तृत विषयहरु समेट्नेछन् । विश्वमा ४३ प्रतिशत वेभसाइट वर्डप्रेसमा निर्माण गरीएको छ । कार्यक्रममा सहभागी हुन वर्ड क्याम्प नेपाल २०२६ को वेभसाइटमा गएर अनलाइनबाट रजिस्ट्रेसन गर्न सकिनेछ । रजिस्ट्रेसनका लागि विद्यार्थीहरुलाई १ हजार २ सय र अन्य सहभागिका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

You may also like