गुल्मीमा बस–मोटरसाइकल ठक्कर : दुई जनाको मृत्यु, दुई घाइते

by समतल अनलाइन
72Shares

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पिकनिकका लागि विद्यार्थी बोकेर हिँडेको लुम्बिनी प्रदेश ००–ख ०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका गाउँपालिका–६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको मालिका गाउँपालिका–५ की वडाध्यक्ष रेखा कुमार जिसीले जानकारी दिइन्।

दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी र पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई बनभोजका लागि लैजाँदै गरेको बसले मालिका गाउँपालिका–७ अन्तर्गत अर्जे राम्चेको ओरालेमा मोटरसाइकललाई ठक्कर दिएको हो।
आफन्तका अनुसार मृतक मनकला अर्यालकी छोरी उपचारका लागि जानुपर्ने भएकाले नाती लिन उनी बिहानै मोटरसाइकलमा निस्किएकी थिइन्।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस प्रहरीले नियन्त्रणमा लिएको छ।

You may also like