बुटवल । अङ्ग्रेजी नयाँ वर्ष तथा पुस १५ लाई लक्षित गर्दै मंगलबारदेखि बुटवलमा ‘बुटवल सडक खाना महोत्सव’ आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा तीन दिने महोत्सव हुन लागेको हो ।
बुटवल उपमहानगरपालिका–९ अन्तर्गत तिनकुने चोकदेखि बसपार्क चोकसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधवकुमार खनालले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा स्थानीय रैथाने खानाका परिकार, विभिन्न जातजातिका पहिचान झल्काउने परिकारका साथै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने उनले बताए । महोत्सवका लागि सडकको बीच भागमा अत्याधुनिक स्टलहरू निर्माण गरिएको पनि उनले जानकारी दिए ।
महोत्सवमा विभिन्न जातजाति तथा समुदायसँग सम्बन्धित खानाका परिकारसँगै सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछ । संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ, वितरण र स्वागत सत्कार उपसमिति संयोजक अर्जुन थापाका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ ।
स्थानीय खानाको स्वाद प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन र बुटवलको पर्यटन विकास महोत्सवका मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । पर्यटनको सम्भावना बोकेको बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले आसपासका पर्यटकीय स्थलहरूको समेत प्रचार–प्रसार गरिनेछ । यसका लागि महोत्सव स्थलमा पर्यटकीय गन्तव्य झल्किने ‘सेल्फी जोन’ निर्माण गरिने र पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी आयोजना गरिने संघका उपाध्यक्ष तथा गोष्ठी–सेमिनार उपसमिति संयोजक रोमाकान्त पाण्डेले बताए ।
महोत्सवमा करिब ६० वटा खानाका स्टल रहने संघका महासचिव तथा महोत्सव सदस्य सचिव केशव कँडेलले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ भने अन्तिम दिन रक्तदान कार्यक्रमसमेत आयोजना गरिने संघले जनाएको छ ।
महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित र्याली निकालिने संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले बताए । संघले २०७५ सालदेखि निरन्तर रूपमा सडक खाना महोत्सव आयोजना गर्दै आएको छ ।





