लुम्बिनीलाई एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र बनाउन आग्रह

by समतल अनलाइन
62Shares

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल–२०८२’ अन्तर्गत ‘लुम्बिनी : लगानी र पर्यटनको सम्भावना’ विषयक छलफलमा सहभागी वक्ताहरूले गुरुयोजनाअनुसार लुम्बिनीलाई पवित्र उद्यानका रूपमा विकास गर्न नसकिएकोमा चिन्ता व्यक्त गरेका हुन्।
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लिलामणि शर्माले गुरुयोजनाको मूल मर्म नै लुम्बिनीलाई सामान्य पर्यटनस्थल नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउनु रहेको बताउनुभयो।

उहाँले विश्वभर रहेका करिब एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा लुम्बिनी विकास गर्न सरकारले विशेष नीति र योजना ल्याउनुपर्नेमा जोड दिनुभयो।

‘आध्यात्मिक पर्यटन नै लुम्बिनीको वास्तविक शक्ति हो,’ शर्माले भन्नुभयो, ‘गुरुयोजनाअनुसार सिंगो लुम्बिनीलाई पवित्र बगैंचाका रूपमा विकास गर्न सके लुम्बिनी र मायादेवी मन्दिर विश्वकै प्रमुख आध्यात्मिक केन्द्र बन्न सक्छन्।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान तथा लगानी मुख्यतः कोषको चार पर्खालभित्र मात्रै सीमित रहेको गुनासो गर्नुभयो। पुरातात्विक उत्खननमा मात्रै लगानी केन्द्रित भएको उल्लेख गर्दै उहाँले संघीय र प्रदेश सरकारले लुम्बिनीको समग्र पर्यटन विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
उहाँले लुम्बिनीमा बर्थिङ हस्पिटल निर्माणका लागि विदेशी लगानी भित्र्याउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। साथै, फोहोरको दीगो व्यवस्थापन प्रक्रिया सुरु भइसकेकाले अब लगानीमैत्री वातावरण बनेको उपप्रमुख हरिजनको भनाइ थियो। नगरपालिकाले आफ्नै बजेटबाट ध्यान केन्द्र निर्माण गर्नुका साथै पर्यटन सूचना केन्द्र स्थापना गरेको पनि उहाँले बताउनुभयो।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी बौद्ध शिक्षा, शान्ति र सहअस्तित्वको केन्द्रका रूपमा विकास हुनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसंघको निर्देशन र नेपाल सरकारको नीति तथा बजेटको सीमाभित्र रहेर मात्रै कोषले काम गर्न पाउने स्पष्ट पार्दै उहाँले हालसम्मका योजना र बजेट गुरुयोजना कार्यान्वयनमै केन्द्रित रहेको जानकारी दिनुभयो।
गुरुयोजना कार्यान्वयनमा ढिलाइ हुनुको मुख्य कारण पर्याप्त बजेट अभाव रहेको राईले गुनासो गर्नुभयो। भारतीय पर्यटन व्यवसायीमार्फत आउने धेरै पर्यटक एकै दिन फर्किने गरे पनि पछिल्लो समय गुणस्तरीय पर्यटक भित्र्याउने र बसाइँ अवधि लम्ब्याउने प्रयास सफल हुँदै गएको उहाँले बताउनुभयो।

छलफलमा कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले पर्यटन विकासका लागि पर्यटकमैत्री नीति, प्रडक्ट र व्यवहार आवश्यक रहेको बताउनुभयो। पर्यटनमा प्रत्यक्ष लगानी निजी क्षेत्रले गर्ने भएकाले सरकारले वातावरण र नीतिगत सहजता तयार गर्नुपर्ने उहाँको भनाइ थियो।

लुम्बिनीका विभिन्न उद्यानलाई विश्वभरका बौद्धमार्गीले ध्यान गर्न सक्ने केन्द्रका रूपमा विकास गर्न राज्य र निजी क्षेत्रले संयुक्त योजना बनाउनुपर्ने श्रेष्ठले सुझाव दिनुभयो। छलफल सत्रको सहजीकरण क्लबका पूर्वअध्यक्ष नरेश केसीले गर्नुभएको थियो।

You may also like

This will close in 0 seconds