बुटवल । बुटवलको कालिकानगरमा रहेको बुटवल एकेडेमिक इन्स्टिच्युटले नवआगन्तुक एचए प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत तथा खेलकुद सप्ताहको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाले आयोजना गरेको खेलकुद सप्ताह–२०८१ अन्तर्गत भएका भलिबल, ब्याडमिन्टन, खो–खो, म्युजिकल चेयर र फुटसल लगायतको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । खेलकुद गतिविधिले विद्यार्थीहरूमा अनुशासन, टिमवर्क र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेलले देशभर नर्स तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै यस्ता शैक्षिक संस्थाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने बताए ।

त्यसैगरी कार्यक्रमको अध्यक्षता गर्दै बुटवल एकेडेमिक इन्स्टिच्युटका कार्यलारी विनोद घिमिरेले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र सेवाभावयुक्त स्वास्थ्यकर्मी बन्न प्रेरित गरे । उनले संस्थाले गुणस्तरीय शिक्षा र व्यवहारिक तालिमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।
त्यस्तै फोर फोरम टेक्निकल साइन्सका वरिष्ठ सल्लाहकार चिरञ्जीवी जोशीले विद्यार्थी जीवन नै भविष्यको आधार भएकाले लक्ष्यप्रति इमान्दार हुन आग्रह गरे ।
फोर फोरम टेक्निकल साइन्सका केन्द्रीय सदस्य डीपी खनालले देशमा दक्ष स्वास्थ्यकर्मीको अभाव भइरहेका बेला एचए अध्ययनको महत्व बढ्दो रहेको बताए ।
लुम्बिनी सिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश सापकोटाले अध्ययनसँगै व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राखे ।
त्यस्तै पत्रकार रमेश अर्यालले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताए । उनले अध्ययनसँगै व्यवहारिक सीप र सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





