काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै उनले पार्टीको विधान नमान्ने सुविधा कसैलाई नरहेको स्पष्ट पारे ।
महामन्त्री थापाले स्मरणपत्र कार्यसम्पादन समितिको बैठकमा जानकारी गराइने बताए । ‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौं । विधान नमान्ने सुविधा कसैलाई पनि छैन,’ उनले भने ।
पार्टी विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित हस्ताक्षर पेश गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार २९ असोजमा २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गरिएको प्रस्ताव पेश गरिएको थियो ।
केन्द्रीय कार्यालयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका थिए । स्मरणपत्र बुझेपछि प्रतिक्रिया दिँदै थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषय उठाइने बताए ।
विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशन भए विशेषको माग स्वतः निष्क्रिय हुने बताएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानको कार्यान्वयन गर्नु दुवै महामन्त्रीको कर्तव्य भएको बताए ।





