तिलोत्तमामा असल नेतृत्व विकासका लागि वक्तृत्वकला प्रतियोगिता

by समतल अनलाइन
42Shares

तिलोत्तमा ।शुभयात्रा नेपाल, रूपन्देहीको आयोजनामा तिलोत्तमा नगरस्तरीय ‘असल नेतृत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता अन्तर्गत वडा नम्बर ८ को छनौट चरण बिहीबार सम्पन्न भएको छ। नगरभित्रका १७ वटै वडामा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत माध्यमिक तहका विद्यार्थीहरूबीच नेतृत्व विकासलाई केन्द्रमा राखेर प्रतिस्पर्धा गराइएको हो।

कार्यक्रमबारे जानकारी दिँदै शुभयात्रा नेपाल रूपन्देहीका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले नयाँ पुस्तामा सकारात्मक सोच, जिम्मेवार नेतृत्व र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार तालिमसहितको यस प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न प्रेरित गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का कार्यबाहक वडाध्यक्ष कमलकान्त गौतमले आफ्ना वडाका समस्या, सम्भावना र भावी योजनाबारे विद्यार्थीहरूको दृष्टिकोण बुझ्न पाउने अवसर मिलेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीलाई समाजप्रति जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

शुभयात्रा नेपाल गोठवा समितिका संयोजक भिमा अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले शुभयात्रा नेपाल पञ्चसूत्रीय योजनासहित विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले देवभूमि क्षेत्र संरक्षण, गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल सहयोग, फोहरमुक्त नेपाल अभियान र पर्यटन प्रवर्द्धन संस्थाको प्राथमिकताका क्षेत्र रहेको बताउनुभयो।

कार्यक्रममा जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले सहभागी विद्यार्थीहरूलाई वक्तृत्वकला सम्बन्धी प्रारम्भिक प्रशिक्षण दिनुभएको थियो। विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना प्राप्त तथा जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता समेत रहनुभएका गैह्रेले प्रस्तुति शैली, विषयवस्तु र आत्मविश्वासका बारेमा उपयोगी सुझाव दिनुभएको थियो। प्रतियोगितापछि सबै सहभागीलाई पृष्ठपोषण प्रदान गरिएको निर्णायक मण्डलका सदस्य केशव न्यौपानेले जानकारी दिनुभयो।

छनौट प्रतियोगितामा शान्ति नमूना माध्यमिक विद्यालयकी अनुश्री शर्मा प्रथम हुँदै नगरस्तरीय अन्तिम प्रतियोगिताका लागि छनौट हुनुभएको छ। त्यसैगरी मणिमुकुन्द माध्यमिक विद्यालयका कृष्ण खरेल द्वितीय र नवज्योति इङ्लिस बोर्डिङ स्कुलका सुजल खरेल तृतीय हुनुभएको छ। उहाँहरूलाई पुरस्कार प्रदान गरिएको निर्णायक मण्डलका सदस्य दुर्गादेवी लामिछानेले जानकारी दिनुभयो।

सीता पाण्डेको स्वागत मन्तव्यसँगै सम्पन्न कार्यक्रममा वडा सदस्य कमला पराजुली, निर्णायक मण्डलका संयोजक स्थानेश्वर बस्याल, टोल सञ्जाल वडा नम्बर ८ का संयोजक गोपाल भण्डारी, मिलन टोल विकास संस्थाका अध्यक्ष रमाकान्त भुसाल, प्रदिपनगर टोल विकास संस्थाकी अध्यक्ष गोमा रिजाल लगायतले विद्यार्थीमा असल नेतृत्व विकासका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको धारणा राख्नुभयो।

शुभयात्रा नेपाल गोठवा समितिका सचिव कृष्णप्रसाद खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा मेसोपोटामिया विश्वविद्यालयका अतिथि प्राध्यापक युवराज कंडेल, संस्थाका आजीवन सदस्य रामप्रसाद अर्याल, कल्याण बाल सञ्जालका अध्यक्ष क्षितिज ढकाल, विभिन्न टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, फागुन ७ गते हुने नगरस्तरीय अन्तिम प्रतियोगिताको छनौट चरण अन्तर्गत वडा नम्बर ९ को कार्यक्रम पुस १० गते वडा कार्यालय केवलानीमा सञ्चालन गरिने करहिया समितिका संयोजक दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो।

You may also like

This will close in 0 seconds