स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्नेमा स्वास्थ्य मन्त्री सारुको जोड

by समतल अनलाइन
65Shares

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा पहुँच मात्र नभई गुणस्तर पनि अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् ।
बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भए मात्र नागरिकको जीवन रक्षा सम्भव हुने बताए । उनले सेवा प्रदायक स्वास्थ्य संस्थालाई गुणस्तर सुधारमा विशेष ध्यान दिन आग्रह गरे ।

मन्त्री सारुले रुपन्देही जिल्ला विस्तारै स्वास्थ्य पर्यटन (हेल्थ टुरिजम) को केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गरे । यहाँका स्वास्थ्य संस्थाले प्रदान गरिरहेको सेवाको प्रभावका कारण जिल्लाबाहिरबाट समेत बिरामी आउन थालेको उनले बताए ।

मन्त्री सारुले बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य यस वर्ष ४५ प्रतिशत पुग्ने जानकारी दिए । प्रादेशिक अस्पतालमा विशिष्टीकृत तथा गुणस्तरीय सेवा सुरु भएपछि रुपन्देही स्वास्थ्यको ‘हब’ बन्ने उनको विश्वास छ ।
अस्पताल निर्माणका लागि यस वर्ष १ अर्ब ६ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको र तोकिएकै समयमा निर्माण सम्पन्न हुने उनले बताए । आगामी आर्थिक वर्षको बजेटबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री सारुले व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिए पनि पर्याप्त बजेट नदिँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । अर्का पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुटु अस्पतालका लागि आवश्यक जग्गा बुटवलभित्रै खोजिनुपर्ने बताउँदै अस्पताललाई बुटवल बाहिर जान नदिने धारणा व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्याल, रोटरी ३२८२ नेपाल–भुटानका अध्यक्ष राजेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष एजाज आलमले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै स्थापनाको १२ वर्षमा ४ लाख १६ हजारभन्दा बढी बिरामीले ओपीडी सेवा लिएको जानकारी दिए । अस्पताल भवन निर्माणका लागि प्रयास भइरहेको भए पनि अझै सार्थक बन्न नसकेको उनले बताए ।

अस्पतालका निर्देशक डा. समिर गौतमले अव्यवस्थित खानपिन र लापरबाहीका कारण मुटु रोगी बढ्दै गएको भन्दै सबैलाई नियमित स्वास्थ्य जाँच गर्न आग्रह गरे ।

कार्यक्रममा दशक सम्मान अन्तर्गत मोहन बेल्बासे र दीपक कुमारी चौधरी थारुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै निरज राना, हरियामा थापा, कृष कार्की, पुष्पा घिमिरे, डा. दीपक शर्मा, विष्णुबहादुर सारु, अर्जुन केवट र प्रेम आलेलाई उत्कृष्ट कर्मचारी का रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव बाबुराम बोहोराले गरेका थिए ।

You may also like

This will close in 0 seconds