नागरिककाे स्वास्थ्य सेवाकाे दायत्व सरकारले लिनुपर्छ : काँग्रेस नेता शाह

by समतल अनलाइन
56Shares

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिककाे स्वास्थ्य सेवालाई नि:शुल्क बनाउनु पर्ने विचार राख्नुभएकाे छ ।

नेपाल स्वास्थ्यकर्मी संघकाे रुपन्देहीको तिलोत्तमामा भएकाे आठौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै काँग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएकाे हाे ।

उहाँले कोभिड–१९ महामारीजस्तो कठिन समयमा स्वास्थ्यकर्मीहरूले पुर्‍याएको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको आवाज सुन्नु अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्यकर्मीका समस्या समाधान गर्दै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभयो । साथै, सरकारले सबै नागरिकलाई समान दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका स्वास्थ्यकर्मीको सुरक्षा र उनीहरूका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सबैका कुरा सुन्ने र बुझ्ने सरकारबाट मात्रै लोकतन्त्रको अनुभूति हुने उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई खुसी बनाउन सके स्वास्थ्य सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाडले महामारीजन्य विपद्का समयमा स्वास्थ्यकर्मीको योगदान उच्च रहेको बताउँदै उनीहरूका समस्या समाधानमा सरकारले तदारुकता देखाउनुपर्ने धारणा राख्नुभयो । तिलाेत्तमा गरपालिकाका नगरप्रमुख समेत रहनुभएका खाणले स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आफू तयार रहेको उल्लेख गर्दै प्रभावकारी स्वास्थ्य सेवाका कारण पछिल्ला वर्षहरूमा नागरिकको औसत आयु बढ्दै गएको बताउनुभयो । स्वास्थ्य सेवालाई अझ सरल, सहज र सहुलियतपूर्ण कसरी बनाउन सकिन्छ भन्ने विषयमा ठोस प्रस्ताव ल्याउन उहाँले आग्रह गर्नुभयो ।

शुभकामना मन्तव्य दिने क्रममा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही अध्यक्ष रामप्रसाद ढकाल, नेपाल स्वास्थ्यकर्मी संघ मधेश प्रदेश अध्यक्ष शिवजी दास तथा नेपाल निजामती कर्मचारी युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डेले स्वास्थ्यकर्मीका हक–हित, सुरक्षा र सेवाका विषयमा आ–आफ्ना धारणा राख्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा संघका उपाध्यक्ष किरण वलीले संघले व्यहाेर्नु परेका व्यवधानहरुकाे जानकारी गराउदै याे अधिवेशनले संगठनमा आईपरेका समस्याकाे समाधान गर्ने र संगठनलाई गति दिने विश्वास व्यक्त गर्नुभयाे ।

संघका महासचिव दीपक भट्टकाे सञ्चालनमा भएकाे कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

You may also like

This will close in 0 seconds