बुटवल । बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको निःशुल्क सेवा बन्द गर्ने घोषणा गरेको छ। अस्पतालले मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुका बिरामीको निःशुल्क उपचार सेवा रोक्ने जनाएको हो।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममार्फत सूचिकृत अस्पतालहरूलाई क्याथल्याबबाट मुटुका बिरामीको उपचार गर्दा प्रति बिरामी १ लाख रुपैयाँ र मिर्गौलाका बिरामीको डायलाइसिस गर्दा प्रति पटक २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पनि सोही कार्यक्रम अन्तर्गत सूचिकृत भई लामो समयदेखि निःशुल्क सेवा प्रदान गर्दै आएको छ।
अस्पतालका अनुसार चालु आर्थिक वर्षमा मात्रै क्याथल्याबमार्फत १ हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीलाई नियमित डायलाइसिस सेवा दिइएको छ। यसबाट १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको भए पनि सरकारले सो रकम भुक्तानी नगर्दा अस्पताल गम्भीर आर्थिक सङ्कटमा परेको जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापनले लामो समयसम्म रकम निकासा नहुँदा अन्य उपचार सेवा समेत प्रभावित हुने अवस्था आएको जानकारी दिएको हो। अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार मङ्सिर मसान्तसम्म सरकारबाट १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ भुक्तानी हुन बाँकी छ। अघिल्लो वर्षको समेत जोड्दा बाँकी रकम २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ पुगेको छ। हालसम्म जम्मा २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र प्राप्त भएको उनले बताए।
अध्यक्ष आलमले भने, “सरकारबाट समयमै रकम नआउँदा चिकित्सक र स्वास्थ्यकर्मीको तलब भुक्तानी, औषधि खरिद र उपचार व्यवस्थापनमै समस्या भएको छ।” औषधि आपूर्ति गर्ने कम्पनीलाई समेत लामो समयदेखि रकम दिन नसक्दा औषधि र उपकरण आपूर्ति रोकिन थालेको उनले बताए।
उनका अनुसार कुनै वर्ष स्वास्थ्य विभाग र कुनै वर्ष स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी हुने प्रणालीकै कारण पनि समस्या दोहोरिँदै आएको छ। आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य विभागमा जिम्मेवारी सार्दा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयाँ हालसम्म पनि नपाएको उनले बताए। यस आर्थिक वर्षमा पुनः स्वास्थ्य विभागबाट बीमा बोर्डमा जिम्मेवारी सर्दा समस्या दोहोरिएको उनको भनाइ छ।
गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाले २०७० सालदेखि मुटु अस्पताल सञ्चालन गर्दै आएको हो। २०७३ सालमा क्याथल्याब सेवा सुरु गरेयता हालसम्म ६ हजार ५६९ जनालाई एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर जडान लगायतका सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।
त्यस्तै, २०७२ सालदेखि सुरु गरिएको मिर्गौला उपचार सेवाबाट हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा दिइएको छ। हाल पनि ५५१ जना बिरामीले नियमित रूपमा डायलाइसिस गराइरहेका छन्।
लुम्बिनी प्रदेशभर करिब साढे ८ सय मिर्गौला बिरामीले नियमित डायलाइसिस गराउँदै आएका छन्, जसमध्ये ५५१ जनालाई गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मात्रै सेवा दिँदै आएको छ। बाहिरी जिल्लाबाट बुटवल आएर उपचार गर्दा बिरामीलाई आर्थिक र यात्राको समस्या हुने भएकाले अस्पतालले दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको वाणगंगामा समेत डायलाइसिस केन्द्र सञ्चालन गर्दै आएको जनाएको छ।




