दिगो वातावरणका लागि फोहोर नफाल्ने बानी विकास गर्नुपर्ने

by समतल अनलाइन
67Shares

बुटवल । वातावरणकाे दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन हुन जरुरी रहेको एक कार्यक्रममा औँल्याइएको छ । पर्यावरण संरक्षण समाज नेपालकाे आयाेजना र बुटवल उपमहानगरपालिकाकाे सहकार्यमा दिगो सरसफाइ व्यवस्थापनका लागि अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रममा वातावरणकाे दिगो सरसफाइका लागि स्वयं नागरिक नै सचेत रहनुपर्नेमा जाेड दिइएको हाे ।

कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरसफाइकर्मी नगरका प्रमुख पात्र भएकाे बताउँदै नगर सधैँ उनीहरुको सम्मानमा रहेको बताउनुभयो । प्रमुख पाण्डेले सरसफाइकर्मीकै उपस्थितिले नगर सफा बनाउन सफल भएको बताउनुभयो ।

उपप्रमुख सावित्रा देवी अर्यालले पहिलेकाे तुलनामा नगर केहि हदसम्म सफा भएको दावी गर्नुभयो ।

विशेषगरी बुटवल उपमहानगरपालिकाका सरसफाइकर्मीहरुकाे विशेष उपस्थितिमा गरिएको कार्यक्रममा उपमहानगरका सफाइकर्मीहरुले सरसफाइका क्रममा थुप्रै समस्याहरु आउने गरेको  गुनासो गरेका छन् । साथै सरसफाइकर्मीका लागि आवश्यक सामग्रीहरु पर्याप्त नभएको गुनासो गरेका हुन् ।  उपमहानगरपालिकाका नागरिकहरु पैसा तिरेका छाैँ भन्दै फाेहर जथाभावी फाल्ने गरेकाे सफाइकर्मीहरुले साे अवसरमा बताएका छन् । साथै कार्यक्रमा वातावरण संरक्षण र सरसफाइका लागि पर्याप्त बजेट विनियोजन गर्न जरुरी रहेकोमा जाेड दिइएको छ ।

प्रशिक्षक पर्या साहित्यकार तथा वातावरण विद विजय हिताङले विशेषगरी सरसफाइका लागि सबैभन्दा पहिले फाेहर जथाभावी नफाल्न आग्रह गर्नुभयो । वातावरणविद हिताङले वातावरणकाे सरसफाइकाे लागि हरेक व्यक्तिले सानासाना कुरामा ध्यान पुर्याउन जरुरी रहेको बताउँदै सरसफाइका क्रममा भएका समस्याहरु समाधान गर्दै जानुपर्नेमा जाेड दिइएको छ । प्रशिक्षक हिताङले सबै नागरिक जिम्मेवार र इमानदार बनेर स्वच्छ र सफा बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे ,सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल , याेजना शाखा प्रमुख ठगिश्वर पाेखरेल , सफाइकर्मीहरुले बाेलेका थिए । नगरका विभिन्न शाखाका प्रमुख र कर्मचारी , सञ्चारकर्मीहरु उपस्थित रहेकाे कार्यक्रममा संस्थापक अध्यक्ष गणेश घिमिरेले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमकाे समापन गर्दै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पाेखरेलले नगर सरसफाइकाे क्रममा सफाइकर्मीहरु पनि आफू सुरक्षित र चनाखो हुनुपर्ने बताउनुभयो । कार्यक्रमकाे सञ्चालन उपाध्यक्ष अर्जुन ज्ञवालीले गर्नुभएको थियाे ।

You may also like