औद्योगिक मेलामा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

by समतल अनलाइन
66Shares

बुटवल ।फलफूल र तरकारीमा बढ्दो तथा अनियन्त्रित किटनाशक विषादी प्रयोगका कारण नेपाली उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार तत्काल उत्पादन बढाउने नाममा गरिएको विषादी प्रयोगले दीर्घकालमा गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक अवस्था सिर्जना गरिरहेको छ ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारी बिना किटनाशकलाई औषधि ठानी प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलन तथा बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत असर पर्ने तथ्य सार्वजनिक गरिएको थियो ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले निरन्तर एउटै विषादी प्रयोग गर्दा कीरामा प्रतिरोध क्षमता विकास हुने बताए । “यसले अझै कडा र महँगा रसायन प्रयोग गर्न बाध्य बनाउँछ,” उनले भने, “माटोमा रहेका लाभदायी सूक्ष्म जीव नष्ट हुँदा माटोको उर्वराशक्ति घट्छ र बालीको प्राकृतिक प्रतिरोध क्षमता कमजोर बन्छ ।”

कृषि निर्देशनालयका बाली संरक्षण अधिकृत मिलन गैरेले किटनाशकको असर किसान, खेतमा काम गर्ने मजदुर र उपभोक्ता सबैमा समान रूपमा पर्ने जोखिमपूर्ण अवस्था रहेको बताए । “खानामा रहेको विषादीको अवशेषले तुरुन्तै असर नदेखिए पनि दीर्घकालमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ,” उनले भने ।
अनुसन्धानकर्ता शारदा पाण्डेले वातावरणीय असर झनै चिन्ताजनक रहेको उल्लेख गरिन् । उनका अनुसार किटनाशकका कारण मौरी, चरा, माछालगायत उपयोगी जीव नष्ट हुँदै गएका छन्, जसले जैविक सन्तुलन बिगार्नुका साथै परागण प्रक्रियामा समेत नकारात्मक असर पुर्‍याइरहेको छ ।

राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र, भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले किटनाशक पूर्ण रूपमा बन्द गर्नुभन्दा पनि यसको सही व्यवस्थापन आवश्यक रहेको बताए । “एकीकृत कीट व्यवस्थापन, जैविक विषादी, सही मात्रा र सही समयमा प्रयोग नगरेसम्म विषादीको फाइदा दीर्घकालीन हुँदैन,” उनले स्पष्ट पारे ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले उपभोक्ता सचेत नहुँदासम्म समस्या अझै बढ्ने भन्दै सरकारी निकायलाई नियमित अनुगमन र कडाइ गर्न आग्रह गरे । कृषि शिक्षक तथा विद्यार्थीहरूले खाद्यान्न पसलमै विषादी बिक्री हुने अवस्थाप्रति आपत्ति जनाउँदै जैविक विषादीलाई सहज, सुलभ र प्रोत्साहन गर्ने सरकारी नीति आवश्यक रहेको धारणा राखे ।
यसैबीच, ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारासहित सञ्चालन भइरहेको प्रदर्शनीमा कृषि, पर्यटन र प्रविधिलाई प्राथमिकता दिइएको छ । संघका अनुसार ३९ जिल्लाको सहभागिता रहेको प्रदर्शनीमा करिब ८ लाख दर्शक भित्र्याउने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

कृषि उपज, महिला उद्यमशीलता र स्वदेशी उत्पादन प्रवर्द्धनमा केन्द्रित प्रदर्शनीभित्र आयोजित गोष्ठीले “उत्पादन बढाउने नाममा उपभोक्ताको स्वास्थ्य जोखिममा पार्न हुँदैन” भन्ने सन्देश स्पष्ट रूपमा अघि सारेको सहभागीहरूको भनाइ छ ।

You may also like