शीतल निवासमा केपी ओलीले के भने ?

by समतल अनलाइन
53Shares

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाएको छलफलमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन्।

मंगलबार शीतल निवासमा भएको छलफलमा अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलका नेताहरूको सुरक्षा गम्भीर विषय बनेको बताएका हुन्।

ओलीले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकिएको, राजनीतिक दललाई निषेध गरिएको र शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव सम्भव नहुने बताएका छन् । दलहरू निर्भयपूर्वक चुनावमा जान पाउनुपर्ने, उम्मेदवारले प्रचारप्रसार गर्न पाउनुपर्ने र मतदाताले बिना डर मतदान गर्न पाउने वातावरण सरकारले ग्यारेन्टी गर्नुपर्ने अडान लिएको उनको सचिवालयले जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाएका थिए । नेकपा संयोजक पुष्पकमल दाहालले पनि सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको बताएका छन्।

भेटमा प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिमा पनि तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको उनका प्रेस सल्लाहकार दीपक पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले बोलाएको छलफलमा प्रधानमन्त्री कार्की, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र नेकपा संयोजक दाहाल सहभागी थिए । छलफल झन्डै साढे दुई घण्टा चलेको थियो।

You may also like