निर्वाचन सुरक्षामा ठूलो जनशक्ति, एक लाख ४५ हजार ‘निर्वाचन प्रहरी बल’ तैनाथ हुँदै

by समतल अनलाइन
53Shares

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरी बलले छुट्टै ‘निर्वाचन प्रहरी बल’ भर्ना गर्ने भएको छ ।

यसअघि प्रत्येक निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्दै आएकोमा यस पटक भने ‘म्यादी प्रहरी’ नभनी ‘निर्वाचन सुरक्षा प्रहरी’ शीर्षकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै भर्ना प्रक्रिया अघि बढाएका हुन् ।

नेपाल प्रहरीले करिब एक लाख ३० हजार र सशस्त्र प्रहरी बलले १५ हजारभन्दा बढी सुरक्षाकर्मी भर्ना गर्ने तयारी गरेको छ । दुवै सङ्गठनबाट गरी करिब एक लाख ४५ हजारभन्दा बढी सुरक्षाकर्मी थपिने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुवै संगठनले निर्वाचन प्रहरी भर्ना गर्ने गरी ‘एकीकृत सुरक्षा योजना-२०८२’ तयार गरिएको छ। भर्ना प्रक्रिया केही दिनभित्रै सुरु हुने बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुनेछन्।

सुरक्षा योजनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी तथा अन्तिम घेरामा नेपाली सेनाको टोली रहनेछ।

सेना, प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचनलक्षित गस्ती सुरु गरिसकेका छन् । तोडफोड, आगजनीलगायत सम्भावित घटनालाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तय गरेको छ

You may also like