काठमाडौं।नेकपा एमालेको केन्द्रीय सदस्य पदमा पराजित नविना लामाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो टिममा नपार्दा टुहुरी महशुस गरेको बताएकी छन् ।
उम्मेदवारी सूची बनाउने अन्तिम क्षणसम्म प्रयास गर्दा पनि ओली टिममा नपर्नु नै अत्यन्त पीडादायी यथार्थ बनेको उनले दुखेसो गरेकी छन्।
बुबा बितेको चार महिनामै पार्टीको महाधिवेशनमा भाग लिएको तर ओलीको टिममा नपर्दा थोरै मतले हार्नुपर्दा फेरि टुहुरी बनेको महशुस भएको उनले बताएकी छन् ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीको समूहमा अन्तिम क्षणसम्म इमानदार प्रयास गरियो, तर टिममा समेटिन सकिनँ। टिम निर्माणको घडीमा त्यो टिममा मेरो नाम नरहनु मेरो मनका लागि अत्यन्त पीडादायी यथार्थ बन्यो’, उनले फेसबुकमा लेखेकी छन्, यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क। विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु। तर बोलेकोहरू टिममा परेको छ। मैले अभ्यास गर्न पुगेन कि ?’
लामो समयदेखि अध्यक्ष ओलीको नजिक रहेर पार्टीमा काम गरेको भए तापनि पूर्वराष्ट्रपतिसमेत रहेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यताका पक्षमा मत राखेकै कारण आफू बहिष्करणमा परेको आशंका पनि लामाले गरेकी छन्।
‘मैले महिला खुलातर्फ उम्मेदवारी दिएँ। १५७९ मत प्राप्त गर्दै केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ स्थानमा सीमित हुन पुगेँ। पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म कहिल्यै नहारेको मेरो राजनीतिक यात्रामा यो पहिलो हार थियो, जसले मनलाई गहिरो चोट दियो’, नविनाले लेखेकी छन्, ‘बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ। आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ।’




