काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्। सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएपछि औपचारिक रूपमा जेलमुक्त भएका हुन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। नख्खु कारागारबाट रिहा भएपछि उनलाई प्रहरीको साथमा चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा लगिएको थियो। अदालतको आदेशअनुसार अब उनी जेलबाहिर रहेर आफ्ना गतिविधि गर्न पाउनेछन्। विदेश जानु परेमा भने अदालतको अनुमति लिनुपर्ने शर्त तोकिएको छ। रुपन्देही जिल्ला अदालतमा हाजिर भई थुनामुक्त भएपछि भैरहवामा उनले छोटो सम्बोधन गरे । उनले ठूला दलतिर लक्षित गर्दै देशमाथि ठूलो अन्याय गरेको बताए ।
‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि भएको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नुछ, त्यो सबै हिसाब मिलाएपछि म लामो बोलौँला’, उनले भने, ‘हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ । म आशा गर्छु, यो देशले चाँडै न्याय पाउने छ ।’ उनले आफूले बोल्ने समय आइरहेको पनि बताए । ’मैले धेरै कुरा भन्न बाँकी छ । यो विश्वास साथ र अनवरत सहयोगका लागि धन्यवाद’, उनले भने, ‘आज मैले यति बोलेँ बोल्ने दिन आउँछ ।’




