तिलोत्तमा। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८ विहिबार समापन भएको छ । “स्थानीय बजारमा खरिद गरौ, स्थानीय बजारको प्रबर्द्धन गरौ, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं” भन्ने मुल नाराका साथ तिलोत्तमा उद्योग ब्यापार संगठनले सञ्चालन गरेको महोत्सव सकिएको हो । मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गरेका छन् भने १० करोडको आर्थिक कारोबार भएको छ ।
समापन समारोहमा नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले स्थानीय बजारको प्रवद्र्धन र स्वदेशी वस्तुको प्रयोगको लागि मेलाले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले स्वदेशी बस्तुको उत्पादन गर्ने उत्पादक र खरिदकर्ताको प्रत्यक्ष जमघट गराउन पनि यस्ता मेला महोत्सवले सहयोग गर्ने बताउनुभयो । नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय महासचिव खिमनारायण पराजुली, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स उपाध्यक्ष झविन्द्र कडेल, उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डे, बेल प्रसाद शर्मा, हरिलाल पाण्डे, सुरेन्द्र श्री,मिन प्रसाद पोख्रेल लगायत राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिले धारणा राख्दै मेलाले स्वदेशी उत्पादनको प्रचार प्रसारमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि सम्पन्न भएको थियो । खेल संयोजक विवस थापाका अनुसार प्रतियोगितामा वडा नं. ८ प्रथम, ७ द्धितिय, १ तृतिय र प्रोत्साहन वडा नं. ११ भएका थिए । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्तवना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गरेका छन् । विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिएको छ । त्यस्तै विभिन्न प्रतियोगिताका बिजेता तथा सहयोगी संघसंस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
महोत्सवमा खासगरी रसीयन युवतीहरुले माछाको आकृतिमा सजिएर पानीभित्र खेल्ने खेललाई जलपरीको स्टल, गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा पनि दर्शकको आकर्षण रहेको थियो । त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको थियो । मंसिर १५ गतेबाट शुरु भएको महोत्सव १७ दिन चलेको थियो । मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका थिए ।




