बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरीचोक निवासी अर्जुन शर्मा पौडेलका १७ वर्षीय छोरा इशान शर्मा पौडेलको विभत्स हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ।
स्थानीयले नालिमा शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि पठाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार युवकको हत्या योजनाबद्ध रूपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। शव नालिमा फालिएको अवस्थाले हत्या पछि प्रमाण लुकाउने प्रयास गरिएको हुन सक्ने प्रहरीको निष्कर्ष छ।
प्रहरीका अनुसार मृतक बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए। बिहीबार साँझ करिब ६ बजेको समयमा नालिमा शव फेला परेको हो। घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको छ भने स्थानीयवासीसँग सोधपुछ भइरहेको छ।
यस घटनाले कञ्चन गाउँपालिका क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ। स्थानीयवासीले दोषीलाई छिटो पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुर थकालीचोकले जनाएको छ।




