बुटवल । वर्डप्रेस प्रयोगकर्ता, डेभलपर र डिजिटल क्षेत्रमा क्रियाशील व्यक्तिहरूको महत्वपूर्ण सम्मेलन वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलमा आयोजना हुने भएको छ । सम्मेलन मानिग्रामस्थित विश्राम बाटिकामा सञ्चालन हुनेछ ।
काठमाडौंमा मात्र सीमित नहुने उद्देश्यसहित यसपटक बुटवललाई सम्मेलन स्थलका रूपमा छनोट गरिएको आयोजकले जनाएको छ । प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनी प्रदेशका लागि यो सम्मेलनलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । वर्डप्रेसमार्फत वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई–कमर्स क्षेत्र विस्तार भइरहेको अवस्थामा यस कार्यक्रमले नेपालको डिजिटल अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
विगतका सफल वर्डक्याम्प कार्यक्रमहरूको निरन्तरताका रूपमा आयोजना हुन लागेको वर्डक्याम्प नेपाल २०२६ ले सिकाइ, नेटवर्किङ र समुदाय निर्माणको अवसर प्रदान गर्नेछ । भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको नजिक रहेको बुटवलको छनोटले तराईसहित देशभरबाट सहभागीहरू आकर्षित हुने अपेक्षा गरिएको छ । प्राकृतिक सौन्दर्य, भ्यू–प्वाइन्ट र पार्कहरूले भरिपूर्ण बुटवल सम्मेलनका लागि उपयुक्त स्थान रहेको आयोजकको भनाइ छ ।
पहिलो दिन ‘कन्ट्रिब्युटर डे’
कार्यक्रमको पहिलो दिन जनवरी २३ मा ‘कन्ट्रिब्युटर डे’ आयोजना गरिनेछ । यस दिन सहभागीहरूले वर्डप्रेस प्रोजेक्टका विभिन्न टिममा आबद्ध भई प्रत्यक्ष योगदान दिन सक्नेछन् । यसले सिकाइसँगै भविष्यका लागि सहकार्यको आधार तयार गर्नेछ ।
दोस्रो दिन मुख्य सम्मेलन
जनवरी २४ मा मुख्य सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा विज्ञ वक्ता, प्यानल छलफल र व्यवहारिक कार्यशाला समावेश हुनेछन् । सहभागीहरूले वर्डप्रेसका नयाँ प्रवृत्ति, आधुनिक अभ्यास र नवीनतम प्रविधिबारे जानकारी लिन पाउनेछन् ।
वर्डक्याम्प नेपाल २०२६ ले डेभलपर, डिजाइनर, प्लगइन तथा थिम निर्माता, कन्टेन्ट क्रिएटर, सर्च इन्जिन विशेषज्ञ, व्यवसायी, विद्यार्थी तथा वर्डप्रेसप्रेमीहरूलाई एउटै प्लेटफर्ममा ल्याउनेछ । ज्ञान आदान–प्रदान, नेटवर्क विस्तार र नयाँ अवसरको खोजीका लागि यो सम्मेलन उपयोगी हुने विश्वास गरिएको छ ।
सम्मेलनमा सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको छ । टिकट तथा थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइटमा जान सकिने आयोजकले जनाएको छ ।
स्थान र दर्ता जानकारी
यस वर्षको वर्डक्याम्प नेपाल २०२६, मानिग्राम बिश्राम बाटिका, बुटवलमा आयोजना हुनेछ।उक्त सम्मेलनमा सहभागिताको लागि अनलाइन रजिस्ट्रेसन खुला भइसकेको छ ।टिकटको लागी याहाँ जानुहोस् । https://nepal.wordcamp.org/2026/tickets/
थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइटWebsite:https://nepal.wordcamp.org/2026/ मा जान सक्नुहुनेछ।




