चितवनबाट लगिएका दुई हात्ती कतार प्रस्थान

by समतल अनलाइन
45Shares

बुटवल । चितवनबाट स्थलमार्ग हुँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार साँझ कतार पठाइएको छ।

कतार एयरवेजको कार्गो जहाजमार्फत ती दुई हात्ती सधैंका लागि नेपालबाट विदा भएका हुन्। कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजले बुधबार साँझ ५ बजेपछि दुवै हात्तीलाई कतारतर्फ उडान गराएको हो।

हात्तीलाई जहाजमा चढाउने क्रममा विमानस्थलमा माला र अबिर लगाएर बिदाइ गरिएको थियो। सो अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले दुवै हात्तीको कतार बसाइ सुखद् रहोस् भन्ने कामना व्यक्त गरे।

संरक्षणकर्मीहरूका अनुसार कतारमा वातानुकूलित वातावरण भएकाले हात्तीलाई खासै तनाव नहुने विश्वास गरिएको छ। नेपालबाट दुई जना माहुते र एक जना भेटेरिनरी प्राविधिक समेत कतार जाने छन्। उनीहरू एक महिनासम्म त्यहीँ बसेर हात्तीको स्याहार–सुसार, रेखदेख गर्नुका साथै त्यहाँका नागरिकलाई तालिमसमेत दिने छन्।

नेपाल सरकारले कतारसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा उपहारस्वरूप ती दुई हात्ती प्रदान गरेको हो।

वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बुधबार रातिदेखि खगेन्द्रप्रसाद र रुद्रकलीका लागि कतार नयाँ घर बनेको बताए। हात्ती राख्न सकिने अवस्थाबारे गरिएको अध्ययनपछि प्राप्त प्रतिवेदनका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै हस्तान्तरण गरिएको उनको भनाइ छ।

उनका अनुसार रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने खगेन्द्रप्रसाद सन् २०१९ मा चितवनको खोरखोर प्रजनन केन्द्रमा जन्मिएको थियो।

You may also like