एमालेको नेतृत्व चयन गर्न निर्वाचन शुरु, ओली र पोखरेलले गरे पहिलो मतदान

by समतल अनलाइन
52Shares

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका हुन् । ओली र पोखरेलले मतदान गरेसँगै प्रतिनिधिहरूलाई मतदानका लागि पठाउन शुरु गरिएको छ ।

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८ घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

You may also like