बुटवल । उपेक्षित उष्णप्रदेशीय रोगहरू अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाहरूले बताएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहयोगमा मंगलबार सञ्चारकर्मीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराइन्। उनले समयमै रोग पहिचान, उपचार सेवामा पहुँच विस्तार तथा जनचेतनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र कुमार पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा उपेक्षित उष्णप्रदेशीय रोगको अवस्था, हाल सञ्चालनमा रहेका कार्यक्रम तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी गराए। उनले यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको बताए। संघीय सरकारले विनियोजन गरेको बजेटबाट मात्र कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै प्रदेश र स्थानीय सरकारले पनि यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेयले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए।
त्यसैगरी परियोजनाका टेक्निकल अधिकृत अपार शर्माले परियोजनाअन्तर्गत हालसम्म गरिएका गतिविधि, प्राप्त उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै जनचेतना फैलाउन सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताए।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अश्मीना पाण्डेले स्वास्थ्य कार्यालय तथा विभिन्न परियोजनाहरूले गरेका गतिविधि र उपलब्धिबारे सञ्चारकर्मीहरूलाई समय–समयमा जानकारी गराउनुपर्ने बताइन्। सूचना आदान–प्रदान प्रभावकारी भए जनचेतना अभिवृद्धि हुने उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रका कार्यक्रम सफल बनाउन सञ्चारकर्मीहरू सधैं सहकार्यका लागि तयार रहेको स्पष्ट पारिन्।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणका लागि तथ्यपरक समाचार सम्प्रेषण, जनचेतनामूलक सामग्री प्रकाशन तथा समुदायसम्म सन्देश पुर्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमको सञ्चालन फेयरमेड फाउन्डेसन नेपालका समावेशी तथा स्वास्थ्य प्रवर्द्धन विषयविज्ञ तुल्सीराम खनालले गरेका थिए।


