स्कलर्स होम बोर्डिङ स्कुलमा चारदिने खेलकुद सप्ताह सम्पन्न, २८ विधामा विद्यार्थीको उत्साहपूर्ण सहभागिता

by समतल अनलाइन
37Shares

बुटवल । शैक्षिक हबका रूपमा चिनिँदै आएको बुटवलमा रहेको स्कलर्स होम बोर्डिङ स्कुलले आयोजना गरेको चारदिने खेलकुद सप्ताह विभिन्न खेल विधा सम्पन्न गर्दै सफलतापूर्वक समापन भएको छ । मंसिर २६ देखि २९ गतेसम्म सञ्चालन भएको खेलकुद सप्ताहको अन्तिम दिन विभिन्न उमेर समूहका विद्यार्थीबीच प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका हुन् ।

कक्षा पी.जी.देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको खेलकुद सप्ताहमा दौड, जम्प, रिले, टिम गेम तथा मनोरञ्जनात्मक खेलसहित २८ विधाका खेलहरू सञ्चालन गरिएका थिए । चार दिनसम्म चलेको प्रतियोगितामा विद्यार्थीहरूको उत्साह, अनुशासन र खेल भावना उल्लेखनीय देखिएको विद्यालयले जनाएको छ ।

कक्षा ४ र ५ तर्फ ५० मिटर दौड, बोरा दौड, भ्यागुता दौड, चम्चा–गुच्छा दौड, तातो आलु तथा म्युजिकल चियरजस्ता खेलहरू सञ्चालन गरिएका थिए । यी खेलहरूमा छात्र र छात्रा दुवैतर्फ विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै, कक्षा ६ र ७ तर्फ बोरा दौड, कुर्सी दौड, तातो आलु, चम्चा–गुच्छा दौडसँगै १०० र २०० मिटर दौड, लङ जम्प र हाई जम्पजस्ता एथलेटिक्स विधामा प्रतिस्पर्धा गरिएको थियो ।

कक्षा ६–७ र सिनियर तहमा १००, २०० र ४०० मिटर दौड, लङ जम्प, हाई जम्प र सटपुटजस्ता खेलहरू सम्पन्न भएका थिए । केही विद्यार्थीले एकभन्दा बढी विधामा पदक जित्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच रिले दौड, रसी तानातान तथा भलिबल प्रतियोगिता सदन प्रणालीअन्तर्गत सञ्चालन गरिएको थियो ।
४×१०० मिटर रिले दौडमा छात्र तथा छात्रा दुवैतर्फ रातो सदन प्रथम, पहेँलो सदन द्वितीय र नीलो सदन तृतीय भएका छन् ।
रसी तानातान खेलमा ग्रिन हाउस प्रथम र रेड हाउस द्वितीय भएका छन् भने भलिबल प्रतियोगितामा ग्रिन हाउस प्रथम र ब्लु हाउस द्वितीय भएका छन् ।
अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीले खेलकुदले विद्यार्थीको शारीरिक तन्दुरुस्तीका साथै आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकासमा सहयोग गर्ने बताउनुभयो ।

सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले पढाइसँगै खेलकुदलाई समान महत्व दिँदै विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै स्कलर्स होम बोर्डिङ स्कुलका सह–प्राचार्य टीकाराम गौतमले विद्यालय शिक्षामा खेलकुदलाई अभिन्न अंगका रूपमा लिइएको र आगामी वर्षहरूमा अझ व्यवस्थित ढंगले प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो ।

You may also like