काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को चार महिनामा कुल निर्यात ७७.५ प्रतिशतले बढेको छ ।नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको चार महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२-८३ को चार महिनामा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११३.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६.२ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८२-८३ कोचार महिनामा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ९ अर्ब ४५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २८.५ प्रतिशत र ४८.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८२-८३ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले वृद्धि भई ५ खर्ब १५ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५४ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५७ अर्ब २४ करोड बराबरको भएको थियो ।


