ओली प्यानलबाट नेताहरू धमाधम बाहिरिँदै, चुनावी प्रतिस्पर्धा पेचिलो

by समतल अनलाइन
164Shares

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि हुने चुनावी प्रतिस्पर्धा संस्थापन पक्षका लागि चुनौतीपूर्ण बन्दै गएको छ। अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू नै प्यानलबाट बाहिरिन थालेपछि चुनौती बनेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले महासचिवको आकांक्षा राखेका थिए । तर ओलीले शंकर पोखरेललाई महासचिवमा दोहोर्‍याउन चाहेपछि ज्ञवालीले पदाधिकारीमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।

संस्थापन पक्षले उनलाई उपाध्यक्षमा समेट्न खोजे पनि ज्ञवाली महासचिवबाहेक अन्य पदमा नउठ्ने अडानमा रहे।

ओली प्यानलबाट अन्य नेताहरू पनि आफूले चाहेको पद नपाएपछि बाहिरिएका छन् । नेता कृष्णगोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा सीमित भएपछि असन्तुष्ट बनेर ईश्वर पोखरेल पक्षबाट सचिवमा उम्मेदवारी दिएका छन्।

विगतमा ओली निकट मानिने गोकुल बास्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन्। अर्का नेता अग्नि खरेल ओली प्यानलबाट बाहिरिँदै सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

संस्थापन प्यानलमा केन्द्रीय सदस्यमा राखिएका लालबाबु पण्डितले पनि सचिवमा उम्मेदवारी दिएका छन्। भीम आचार्यले प्यानल छाडेर उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

रघुजी पन्तले पनि ओली प्यानल छाडेर उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा समेटिन सक्ने चर्चा छ।

संस्थापन प्यानलमा नपरेपछि आनन्द पोखरेलले उपमहासचिवमा उम्मेदवारी दिएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि प्यानलबाट बाहिरिँदै उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।

ओली प्यानलबाट लगातार विद्रोह देखिएपछि ईश्वर पोखरेल पक्ष उत्साहित देखिएको छ।

You may also like

This will close in 0 seconds