बुटवलमा ‘गुडिया मेकओभर स्टुडियो’ सञ्चालनमा, कलाकार खुमन अधिकारी र सोनिस्ता लामाद्वारा उद्घाटन

by समतल अनलाइन
56Shares

बुटवल । बुटवल-५ नेपालगञ्ज रोड विकास पथमा‘गुडिया मेकओभर स्टुडियो’ सञ्चालनमा आएको छ । युवा तथा अनुभवी व्युटिसियन गुडिया कुँवरको नेतृत्वमा सञ्चालनमा आएको यो स्टुडियो सोमबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो ।

स्टुडियोको उद्घाटन राष्ट्रिय कलाकार खुमन अधिकारी र अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट सोनिस्ता लामाले संयुक्त रूपमा गर्नुभएको थियो । उद्घाटन समारोहमा स्थानीय व्युटिसियन, सञ्चारकर्मी, कलाकार तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै कलाकार खुमन अधिकारीले पछिल्लो समय विवाह, भोजभतेर, सांस्कृतिक कार्यक्रम, फोटो सुट, भिडियो सुटिङ तथा अन्य विशेष अवसरमा आकर्षक देखिनका लागि व्यावसायिक मेकअप स्टुडियो जाने चलन बढ्दै गएको बताउनुभयो । उहाँले बुटवलजस्तो तीव्र विकास हुँदै गएको सहरमा गुडिया मेकओभर स्टुडियोले गुणस्तरीय सेवा प्रदान गर्दै आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी स्टुडियोकी सञ्चालक तथा प्रमुख मेकअप आर्टिस्ट गुडिया कुँवरले स्टुडियोमार्फत कलाकार, मोडल, सेलिब्रेटीदेखि सर्वसाधारणसम्मका लागि सम्पूर्ण मेकअप सेवा उपलब्ध गराइने जानकारी दिनुभयो । “यहाँ मेकअप गरेर ग्राहक सिधै पार्टी, सुटिङ वा फोटो सेसनमा जान सक्ने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार ब्राइडल मेकअप, पार्टी मेकअप, फोटो तथा भिडियो सुटिङ मेकअप, हेयर स्टाइलिङलगायतका सेवा स्टुडियोले प्रदान गर्नेछ ।

स्टुडियोका सञ्चालक अनन्त कुँवरले करिब ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सहित स्टुडियो सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले गुणस्तरीय सेवा, सफा वातावरण र आधुनिक उपकरणमार्फत बुटवल तथा आसपासका ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट सोनिस्ता लामाले गुडिया कुँवर आफ्नो विद्यार्थी रहेको उल्लेख गर्दै उहाँको मेकअप कला, मेहनत र समर्पणको खुलेर प्रशंसा गर्नुभयो । लामाले गुडिया मेकओभर स्टुडियोले बुटवलको व्युटिसियन क्षेत्रको स्तर उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्ने क्रममा मेकअप आर्टिस्टहरू सीता ध्वजू, रेनु श्रेष्ठ, खुसी ट्रेडिङका विष्णु घिमिरे, कैलाश टन्डनलगायतले गुडिया मेकओभर स्टुडियोको सफलताको शुभकामना व्यक्त गर्दै मेकअप व्यवसाय विस्तारमा यसले सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

उद्घाटन समारोहको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गर्नुभएको थियो । बुटवलमा सौन्दर्य सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै सञ्चालनमा आएको गुडिया मेकओभर स्टुडियोले आगामी दिनमा व्युटी क्षेत्रमा नयाँ पहिचान बनाउने अपेक्षा गरिएको छ ।

You may also like