चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
95Shares

बुटवल । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले हालै लोकसेवा आयोगबाट विभिन्न समूहमा सिफारिस हुनुभएका शाखा अधिकृतहरूको बधाई एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै चैतन्य एकेडेमी नेपालका व्यवस्थापक दीपक ढकालले चैतन्य एकेडेमी बुटवलसँग आबद्ध भई हाल लोकसेवा आयोगमा सिफारिस हुनुभएका शाखा अधिकृत तथा खरिदारहरूलाई बधाई दिनुका साथै तयारीमा रहनु भएका विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका श्रद्धेय उपसचिव सन्देश श्रेष्ठले लोकसेवा आयोगमा सफल हुन तथा वृत्ति विकास गर्न आवश्यक बहुआयामिक विषयहरूबारे जानकारी गराउँदै आफ्ना क्षमताको पहिचान गरी अगाडि बढ्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।

त्यसैगरी, कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सरकारका सहसचिव श्रद्धेय रामचन्द्र आर्यालले सिफारिस हुनुभएका शाखा अधिकृत तथा खरिदारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै सेवा प्रवाहमा इमानदार र समर्पित हुन आग्रह गर्नुभयो।

कार्यक्रममा सफल शाखा अधिकृतहरू सत्यदेव लोहार, विकास बेलबासे, युवराज केसी, कमल लम्साल, ध्रुव भण्डारी तथा खरिदारहरू पिनिन श्रेष्ठ र बसन्त घिमिरेलगायतले लोकसेवा तयारीका क्रममा अपनाएका आफ्ना गतिविधि तथा अनुभवहरू साझा गर्नुभएको थियो। उहाँहरूले आफूलाई सफल बनाउन चैतन्य एकेडेमी बुटवल शाखाले गरेको सहकार्य र सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले लोकसेवा आयोगको तयारीसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए भने ती जिज्ञासाहरूको समाधान सहसचिव रामचन्द्र आर्यालले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल सरकारका शाखा अधिकृतहरू सागर पोखरेल, बसन्त पोखरेल, टंक गिरीलगायत लोकसेवा तयारीमा रहनुभएका करिब ९० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

चैतन्य एकेडेमी बुटवलले लोकसेवा तयारीका लागि काठमाडौं जानुपर्ने अवस्थाको समाधान गर्दै बुटवलमै बसेर नासुदेखि शाखा अधिकृतसम्म, शिक्षक सेवा, बैंकिङ सेवा, सुरक्षा निकाय तथा सार्वजनिक संस्थानका लागि भौतिक कक्षासहित नियमित रूपमा हप्ताको तीन दिन उपसचिव तथा सहसचिव तहका परीक्षाहरू सञ्चालन गर्दै आएको छ।

You may also like