गरिमा बचत सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

by समतल अनलाइन
12Shares

बुटवल । बुटवल–९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विष्णु बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक सेयर सदस्य टीकाप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि सुवेदीले बोल्दै बढो मेहनतका साथ १५ वर्ष अगाडि २०६७ साल बैशाख १ गते बुटवल धागो कारखानामा काम गर्ने १२ जना श्रमिकबाट सुरु गरिएको सहकारीमा यहाँसम्म आउँदा सबै सदस्यको हितलाई ध्यानमा राख्दै आर्थिक कारोबार चुस्तदुरुस्त रहेको बताए । उनले सहकारी सेयर सदस्यको मेरुदण्ड भएको बताउँदै आर्थिकरुपमा सदस्यको जीवनस्तर अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताए ।
साधारणसभामा अध्यक्ष विष्णु बहादुर थापाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक डोलराज शर्माले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष छविलाल अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

सहकारीमा आ.व. २०८१÷०८२ को कार्यप्रगति अन्तर्गत कुल शेयर पूँजी रु १ करोड ८३ लाख ९७ हजार २ सय, बचत संकलन रु १५ करोड २५ लाख ८३ हजार ४ सय १६ रुपैयाँ ५२ पैसा, लगानीमा रहेको ऋण रु १३ करोड ८० लाख ९ सय ४४, जगेडा तथा अन्य कोष रु १ करोड २५ लाख ७ हजार १ सय ७१ रुपैयाँ ७० पैसा रहेको र नेपाल सरकारको सहकारी दर्ता निकायबाट २५ जना सेयर सदस्यबाट कुल १ लाख २५ हजारको पूँजीबाट विधिवत दर्ता गरी सञ्चालनमा आउँदै गर्दा हालसम्म संस्थामा कुल १ हजार ७६ जना सेयर सदस्य आवद्ध रहेका छन् ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद देवकोटा, रुपन्देही बचत तथा ऋण सहकारी संघका लेखासमिति संयोजक तथा सहकारीका सल्लाहकार पुरुषोत्तम आचार्य, सेयर सदस्यका तर्फबाट लक्ष्मण बस्याल र अमृता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा असल ऋणी विद्या गुरुङ, ज्येष्ठ नागरिक श्यामकली थापा, प्लस टु – २०८१ मा उत्तीर्ण भएका सेयर दस्यका दुई जना छोराछोरीलगायतलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । सहकारीले आफ्ना सेयर सदस्यको दुर्घटना भएमा २ लाखको बिमा गर्दै सेयर सदस्य सुत्केरी पोषणभत्ताबापत दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

सोही कार्यक्रममा स्वर्णिम चौतारी रुपन्देहीको प्राविधिक सहयोगमा सहकारीमा आवद्ध सेयर सदस्यहरुलाई निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

सहकारीका उपाध्यक्ष रञ्जु भट्टराईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव नागेन्द्रराय यादवले गरेका थिए ।

You may also like

This will close in 0 seconds