बुटवल। रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव मा प्रविधि र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।
स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सवमा प्रविधि, कृषि र पर्यटनका छुट्टाछुट्टै पेभेलियन निर्माण गरिने संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवलाई थप प्रभावकारी बनाउन यी क्षेत्रका लागि विशेष योजना तयार गरिएको छ।
संघका उपाध्यक्ष युवराज आचार्यका अनुसार प्रविधि र कृषि क्षेत्रका उद्यमीलाई समेट्ने उद्देश्यले छुट्टै उपसमिति गठन गरिएको छ। यसअघि पर्यटन व्यवसायीसँग सहकार्य गर्दै प्रदर्शनी अवधिभर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई विभिन्न प्याकेजमार्फत सहभागी गराउने योजना बनाइएको र अब त्यसैअनुसार प्रविधि र कृषि क्षेत्रलाई पनि प्रभावकारी ढंगले अघि बढाइने प्रदर्शनी प्रबन्धक यादव भण्डारीले बताउनुभयो।
प्रदर्शनी सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ। तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ।
भर्खरै निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा यसपटक आधुनिक स्तरका स्टल रहनेछन्। स्टलको सजावट, व्यवस्थापन र समग्र प्रस्तुति अघिल्ला वर्षका प्रदर्शनीभन्दा फरक हुने संघले जनाएको छ। साथै, स्वदेशी उत्पादनलाई मात्र स्थान दिने गरी स्टल दर्तामा कडा मापदण्ड लागू गरिएको छ।
संघका सहकोषाध्यक्ष राजु घिमिरेका अनुसार हाल स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। “बाहिरी तयारी लगभग सम्पन्न भइसकेको छ। अधिकांश स्टल दर्ता भइसकेका छन्। बालउद्यान निर्माणको काम पनि चलिरहेको छ भने भित्र स्टल निर्माण धमाधम भइरहेको छ,” उहाँले भन्नुभयो।
त्यसैगरी, प्रचार समिति संयोजक इ. किरण खरेलले स्थानीय तथा आसपासका क्षेत्रमा महोत्सवको प्रचार–प्रसार तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो।



