भद्रपुर।‘छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि। धेरै खुसी छौ जस्तो छ, फेरि टीका पनि लगाएका छौ।’
फेसबुक मेसेन्जरको भिडियो कलमा आमाले सोधेको यो मायालु प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो—
‘आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी। हजुर बिरामी भइरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ।’
यो छोटो तर भावुक संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उनकी आमा लालमाया विश्वकर्माबीच भएको अन्तिम कुराकानी थियो। आमाको स्वास्थ्यलाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार आज परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ।

गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उनका सपना, योजना र परिवारका आशा सबै निभाइदियो। उक्त घटनामा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो। सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन पनि निसास्सिएर ज्यान गुमाउनेमध्ये एक थिए।
सविनको निधनको खबर परिवारका लागि अकल्पनीय थियो। बिहीबार दिउँसो मात्रै उनको शव झापा ल्याइयो र शुक्रबार अन्त्येष्टि गरियो।
‘छोराको शव देखेपछि मात्र पत्याउन सक्यौँ,’ सविनका बुबा टीकाराम विश्वकर्माले भारी मनले भने, ‘नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो।’
सविन टीकाराम र लालमायाका जेठा छोरा हुन्। उनले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गरेका थिए। सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार थिए।
डिप्लोमा सकेपछि उनले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा छ महिना इन्टर्नसिप गरे। त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गरे।
‘छोराले जे काम गरे पनि मन लगाएर गर्थ्यो,’ आमा लालमाया सम्झन्छिन्, ‘सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो।’
पछि उनी ठूलीआमासँगै गोवाको एक होटलमा काम गर्न पुगे। केही समयपछि हाल कार्यरत नाइटक्लबमा सेफका रूपमा प्रवेश गरे र विगत छ महिनादेखि त्यहीँ कार्यरत थिए। कामको वातावरण, तलब र भविष्यप्रति उनी सन्तुष्ट थिए।
घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुप कलमा सविनकी हजुरआमा पनि जोडिएकी थिइन्।
‘म काममा व्यस्त थिएँ,’ लालमाया भन्छिन्, ‘काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ।’
तर एक घण्टापछि पनि सविनको फोन आएन।
‘सधैँ बिहान सबेरै फोन गर्ने छोराको कल नआएपछि मन आत्तियो,’ उनी भन्छिन्, ‘त्यसपछि भारतबाट नाइटक्लबमा आगलागी भएको खबर आयो। त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो।’
सविन काम गरिरहेको नाइटक्लबमा लागेको आगो केही मिनेटमै भयावह बनेको थियो। उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिए र तीमध्ये सविन पनि थिए।
‘त्यहाँ काम गर्दा मेरो छोरा निकै खुसी थियो,’ लालमायाले आँखा भरिँदै भनिन्, ‘तलब पनि राम्रै थियो, घर खर्चका लागि नियमित पैसा पठाइरहेकै थियो।’
सविनका बुबा टीकाराम विगत १८ वर्षदेखि साउदी अरब, युएई हुँदै पछिल्लो दुई वर्षदेखि मलेसियामा कार्यरत थिए। आमा लालमाया पनि चार वर्षदेखि कुवेतमा काम गर्दै आएकी थिइन्। दुवैजना छोराको शव नेपाल आइपुगेकै दिन बिहीबार स्वदेश फर्किएका हुन्।
‘घरको आर्थिक अवस्था कमजोर थियो,’ लालमाया भन्छिन्, ‘त्यसैले श्रीमान् विदेशमै रहनुभयो। म पनि परिवारको अवस्था सुधार्ने सोचले कुवेत गएँ।’
उनका अनुसार सविनले आफैँ भनेका थिए—
‘अब मलाई पढाउनु महँगो पर्छ, म आफैँ कमाएर हजुरहरूलाई दुःख दिन्न।’
सविनको इमानदार काम देखेर नाइटक्लबका सञ्चालक पनि सन्तुष्ट थिए।
‘उसलाई अन्त कतै जान नदिई त्यहीँ राख्ने सोच बनाएका रहेछन्,’ बुबा टीकाराम भन्छन्, ‘उसले कहिल्यै काम गाह्रो भयो भनेन, बरु साहुले माया गर्नुहुन्छ भन्थ्यो।’
सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ। उनका नौ वर्षीया बहिनी र चार वर्षका भाइ भद्रपुरमै हजुरआमाको रेखदेखमा छन्। ‘दाइ कहिले फर्किन्छन्?’ भन्ने उनीहरूको प्रश्नको जवाफ कसैसँग छैन।
भारत सरकारको केन्द्र सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रुपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रुपैयाँ राहत दिने निर्णय गरेको छ। आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्माले जानकारी दिए।
‘गोवा राज्य सरकारले शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थलसम्म ल्यायो,’ उनले भने, ‘त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म पुर्याइदियो।’
आमाको स्वास्थ्यलाभका लागि मन्दिरमा पूजा गरेर फर्किएको छोरा अब कहिल्यै फर्किने छैन। सविन विश्वकर्माको कथा केवल एउटा दुर्घटनाको विवरण मात्र होइन, यो परदेशी श्रम, पारिवारिक जिम्मेवारी र अधुरा सपनाको कथा हो—जसले धेरै नेपाली युवाको यथार्थ बोलिरहेको छ।



