‘जेनजी आन्दोलनको भावना’ भन्दै कांग्रेसका यी चर्चित नेताले गरे चुनाव नलड्ने घोषणा

by समतल अनलाइन
37Shares

काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । कांग्रेस क्षत्रीय समितिले जिल्लालाई र जिल्लाबाट प्रदेश हुँदै केन्द्रीय समितिमा आकांक्षीहरूको नाम पठाउने क्रम जारी छ ।

कांग्रेसभित्र टिकटका लागि तँछाडमछाड भइरहँदा केही चर्चित नेता भने चुनाव नलड्ने घोषणा गरेर संसदीय प्रतिस्पर्धाबाट टाढिएका छन् ।

कांग्रेसका चार जना नेताले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाको कदर गर्दै नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्न आगामी चुनावमा उम्मेदवार बन्ने आकांक्षा नरहेको घोषणा गरेका हुन् ।

उम्मेदवार नबन्ने घोषणा गर्नेमा दुई जना पूर्ववर्ती सरकारका मन्त्रीहरू छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

पाण्डे कांग्रेसका सहमहामन्त्री र अधिकारी कांग्रेस धादिङका सभापति हुन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सहमहामन्त्री पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने घोषणा गरेसँगै उनको नाम जिल्लाबाट सिफारिस गरिएको छैन ।

उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले निर्वाचन नलड्ने निर्णय गरेको अनलाइनखबरसँग बताए ।

यस्तै, पूर्वमन्त्री अधिकारीले २३ मंसिरमा आयोजित धादिङ–२ को पार्टी क्षेत्रीय कार्यसमिति बैठकमा जेनजी आन्दोलनले उठेका सन्दर्भलाई ध्यानमा राखेर उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

कांग्रेसका तर्फबाट काठमाडौं–१० बाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका केन्द्रीय सदस्य राजेन्द्र केसीले पनि आगामी चुनाव नलड्ने घोषणा गरेका छन् ।

पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने कारण देखाएर उनले प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यका लागि अब चुनाव लड्न इच्छुक नरहेको बताएका छन् ।

आगामी चुनाव नलड्ने घोषणा गर्ने अर्का नेता हुन्, केन्द्रीय सदस्य जिपछिरिङ लामा । उनले दोलखाका नेता–कार्यकर्ता सामु नयाँलाई अवसर दिन भन्दै आफू चुनाव नलड्ने घोषणा गरेका छन् ।

लामाले पार्टीमा लागेका नेताहरू सबैले त्याग गर्न सक्नु पर्ने जिकिर गर्दै यसपल्ट आफूले आत्मादेखि नै ठूलो छाती गरेर चुनाव नलड्ने निर्णयमा पुगेको पनि बताए ।

केन्द्रीय सदस्य लामाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफूले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ५० प्रतिशत टिकट ४० वर्ष मुनिका युवालाई दिनुपर्ने प्रस्ताव गरेको पनि स्मरण गरे ।

You may also like

This will close in 0 seconds