काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ । एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ ।
सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो ।

लुम्बिनीबाट यस सिजनमा कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, तिलक भण्डारी, रुबेन ट्रम्पेलम्यान, दिलिपनाथ, सन्दीप जोरलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । लुम्बिनीले लिग चरणमा एक खेल जितेपछि तीन खेल लगातार हार बेहोरेपछि यस सिजनमा पनि गत सिजनकै जस्तो अस्वथा हुने विश्लेषण भइरहेको थियो । त्यसपछि लुम्बिनीले फाइनलमा पुग्दासम्म लगातार ५ खेल जितेर प्रतियोगितामा उत्कृष्ट पुनरागमनको उदाहरण दिएको छ ।
अर्कोतर्फ दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र स्कट कुगेइलिन, हर्मीत सिंह, शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तान खेलाडी मुखतार अहमद जस्ता खेलाडी रहेका छन् । लिग चरणका ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिमको लगातार एकनासको प्रदर्शन रहेको एक मात्र टिम भन्न सकिन्छ । पहिलो खेल देखिनै उत्कष्ट खेल खेल्दै आएको सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो सिजन फाइनल खेल्ने टिम पनि हो । गत सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिमलाई यस सिजनको प्रबल दाबेदारको रुपमा पनि हेरिएको छ ।
यस फाइनलमा एकातिर उत्कृष्ट पुनरागमन गरेर जित हासिल गरेको लुम्बिनी र शुरुदेखि नै उत्कृष्ट खेल खेलेर फाइनलसम्म पुगेको सुदूरपश्चिमको प्रतिष्पर्धा निकै रोचक हुने देखिन्छ ।



