तिनाउ गायन तारा प्रतियोगिता सम्पन्न:न्यु होराइजनका शाकार शाही प्रथम, अक्सफोर्डका न्यौपाने दोस्रो

by समतल अनलाइन
24Shares

बुटवल । बुटवल–११, देवीनगरस्थित तिनाउ इङलिश बोर्डिङ स्कूलमा आयोजित जिल्ला स्तरीय पहिलो तिनाउ गायन तारा प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि न्यू होराइजन उमाबिका शाकार शाहीले जित्न सफल भएका छन्।

प्रतियोगितामा अक्सफोर्ड उमाबिका शिक्षान्त न्यौपाने दोस्रो भए भने, शैनिक आवाहिय महाविद्यालयका रिवाज थारु तेस्रो स्थानमा रहेका छन्। बुटवल एक्स आर्मीकी हिमा थापाले सान्त्वना पुरस्कार पाएकी छन्।

पुरस्कार वितरण समारोहमा प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वनाले ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार विद्यालय अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सिता पाण्डे, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संयोजक नारायण पोख्रेल, र खेल संयोजक नवीनरत्न शाक्यले वितरण गर्नुभयो।

कार्यक्रमको उद्घाटन प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले गर्नुभएको थियो। सो अवसरमा प्याब्सनका केन्द्रीय सदस्य खेमेन्द्र राना, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका निर्वाचित अध्यक्ष दिनेश भुसाल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य लगायतले मन्तव्य राखेका थिए।

प्रतियोगिता गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा जिल्लाका सामुदायिक र संस्थागत गरी ३३ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले मात्रै भाग लिएका थिए।

कार्यक्रमको संयोजन नवीनरत्न शाक्यले गर्नुभएको थियो भने संचालन शिक्षक अग्निधर पोखरेलले गर्नुभएको थियो। निर्णायकको भूमिकामा गायक बसन्त श्रेष्ठ, इसिए इन्चार्ज नवीनरत्न शाक्य तथा किशोर बिक रहेका थिए।

२०५६ मा स्थापना भएको तिनाउ इङलिश बोर्डिङ स्कूलमा हाल करिब दुई हजार विद्यार्थीहरू अध्ययनरत छन्।

You may also like

This will close in 0 seconds