काठमाडौँ । भिजिट भिसा प्रकरणमा अवैध असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहितका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अभियोग पत्रअनुसार भट्टराईसहित अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल र जग्गा कारोबारी खेम सुवेदी पनि मुद्दामा सामेल छन्।

भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नामसमेत मुछिएको छ। उनका योजना र सेटिङ अनुसार सहसचिव भट्टराई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा सञ्चालन भएको आरोप छ।
अख्तियारको अनुसन्धानअनुसार अध्यागमन कार्यालयका कर्मचारीहरूले बैंकमा पर्याप्त रकम, होटल बुकिङ र अन्य आवश्यक कागजात पेश गर्ने व्यक्तिहरूलाई मात्रै विदेश पठाउने व्यवस्था गर्नुको सट्टा म्यानपावर र मानव तस्करी एजेन्सीहरूसँग मिलेर असुलीधन्दा चलाएका थिए। सो क्रममा घुस संकलन गर्ने समिति र रकम हिसाबकिताब राख्ने सफ्टवेयर समेत बनाइएको पाइएको छ।



