तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ।
तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न उद्घाटन कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी ३६ विद्यालयले प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। नगर खेलकुद विकास समितिका संयोजक लोक पुनका अनुसार विद्यालयस्तरमा रहेका प्रतिभालाई उजागर गर्दै उत्कृष्ट खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले खेलकुद स्वास्थ्य तथा सामाजिक विकाससँग जोडिएको विषय भएकोले नगरपालिका खेलकुदलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको बताए। उनले नगरभित्र रहेका सबै खेलमैदानलाई स्तरोन्नति गर्दै खेलाडी उत्पादन, खेलकुद विकास र आत्मनिर्भर खेल संरचना निर्माण नगरपालिकाको लक्ष्य भएको उल्लेख गरे।
त्यसैगरी, नगर उप–प्रमुख जागेश्वर देवी चौधरीले विद्यार्थी स्तरबाटै प्रतियोगितामा सहभागिता जनाए खेलमार्फत देश–विदेशमा पालिकाको पहिचान फैलिन सक्ने बताइन्। उनले खेलले स्वास्थ्य, अनुशासन र राष्ट्रप्रति समर्पण बढाउने भएकाले सबै विद्यार्थीलाई सक्रिय सहभागिताको आग्रह गरिन्।
कार्यक्रम शिक्षा अधिकृत धनीप्रसाद शर्माको स्वागतबाट सुरु भएको थियो। उद्घाटन सत्रको सञ्चालन खेलकुद समितिका सदस्य मनोज केसीले गरेका थिए।
समितिका सदस्य सोभित दर्लामी मगरका अनुसार प्रतियोगितामा कबड्डी, भलिबल, हाइजम्प, लङ्जम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा एथलेटिक्सका विभिन्न इभेन्टसहित ५ विधाका ५४ वटा प्रतिस्पर्धा हुनेछन्। एक सय, दुई सय, चार सय, आठ सय, १ हजार ५०० र ३ हजार मिटर दौड प्रतियोगिता पनि रहनेछन्।
प्रतियोगिता तिलोत्तमा नगरपालिकाको प्राङ्गण र उमा आधारभूत विद्यालयका खेलमैदान दुई स्थानमा एकै साथ सञ्चालन भइरहेको छ।



