बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पुनः पेशी तोकिएको छ।
यसअघिको मंसिर ११ गतेको पेशी लामिछाने पक्षका कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजका लागि नयाँ पेशी तोकिएको हो।

पेशी तोकिए पनि मुद्दा इजलासमा चढ्ने–नचढ्ने विषय भने अहिलेसम्म टुंगो लागेको छैन। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बारको अधिवेशनका कारण आवश्यक गणना नहुने भएकाले सम्बन्धित पक्षका कानून व्यवसायीले पेशी हटाइदिन अनुरोध गरेका छन्।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ गतेपछि निरन्तररूपमा सारिँदै आएको छ।
लामिछानेले सहकारीमा भएको अपचलनअनुसार आफ्नो हिस्साको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई छुट्टै कारण देखाइ रिहा नगर्ने निर्णय गरेको थियो। त्यसपछि उनी पुर्पक्षका लागि थुनामै रहेका छन्।



