शुद्धोदन। रुपन्देहीको शुद्धोदन गाउँपालिकामा दोस्रो शुद्धोदन उद्योग वाणिज्य, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव आजदेखि औपचारिक रूपमा सुरु भएको छ। शुद्धोदन उद्योग वाणिज्य संघका अध्यक्ष लालमणि श्रेष्ठको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका सांसद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहसँगै महोत्सवको सुरुवात गरिएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद चौधरीले ग्रामीण क्षेत्रमा यस्ता भव्य मेला आयोजना गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय बासिन्दाको उत्साह, सक्रियता र सहयोगकै कारण महोत्सव सफल हुने विश्वास व्यक्त गरे। कृषि, व्यापार, बजार विस्तार तथा पर्यटन प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेर स्थानीय तहको समग्र विकासमा टेवा पुर्याउने पनि उहाँले बताए।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले महोत्सव शुद्धोदन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि महत्वपूर्ण कडी सावित हुने उल्लेख गर्दै स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र सांस्कृतिक पहिचान संरक्षणमा यसले सहयोग गर्ने धारणा राखिन्। महोत्सवलाई सफल बनाउन गाउँपालिकाले आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने पनि उनले भनिन्।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासनिक अधिकृत लेखबहादुर बस्नेत, प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष केशव प्रसाद अधिकारी, कार्यपालिका सदस्य रुक्मणी थारु लगायतका वक्ताहरूले पनि महोत्सवलाई प्रभावकारी र सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
महोत्सव उद्घाटनअघि विभिन्न संघ–संस्था, आमा समूह र स्थानीय बासिन्दाले झाँकीसहित र्याली निकालेर उत्साहपूर्ण सहभागिता जनाएका थिए।
महोत्सवमा स्थानीय उत्पादन, कृषि सामग्री, घरेलु तथा साना उद्योग, पर्यटन प्रवर्द्धनसम्बन्धी स्टलहरू राखिएका छन्। साथै विभिन्न सांस्कृतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी र मनोरञ्जनात्मक गतिविधिहरू समावेश भएकाले महोत्सवमा स्थानीयवासीसँगै बाहिरी जिल्लाबाट समेत उल्लेख्य संख्यामा आगन्तुक आकर्षित हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा शुद्धोदन उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष शोभा आलेले अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने महासचिव विष्णु पंगेनीले कार्यक्रम सञ्चालन गरेका थिए।



